
हरि आचार्य, कपिलवस्तु
कोईली चौर साना किसान सामुदायिक वन उपभोक्ता समुहको २३ औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशन गरिएको छ । रुख रोपौं, वन जोगाऔं भन्ने मुल मर्मका साथ कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं ९ मा अवस्थित उक्त वन जिल्लाकै जेठो वन वन हो ।
साधारण सभामा गत आर्थिक बर्ष २०७७/७८ र २०७८/७९ को बार्षिक आयव्यय, प्रगति प्रतिवेदन, लेखा प्रतिवेदन तथा आगामी योजना, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । वनका अध्यक्ष हरिराज घिमिरेले वनको परिचयसंगै आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने सचिव माधुरी सेन गिरीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कुन्तामणि भुसालले आर्थिक बर्ष २०७८/७९ को १ करोड ७४ लाख बराबरको आर्थिक प्रतिवेदन तथा लेखा संयोजक ओमलाल गिरीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि डिविजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले श्रीखण्डको विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । प्रमुख सुवेदीले कार्यक्रमलाई सम्बोधन गर्दै वनको सरंरक्षण तथा संवद्र्धन गर्नु समितीको मात्र नभई सबै नागरिकको रहेको बताउनुभयो । उहाँले वनसंग सबै नागरिकको जिवन र भविष्य जोडिएको भन्दै वनबाटै गाउँको विकास तथा आर्थिक स्तर उकास्न सकिने बताउनुभयो । सुवेदीले पुराना रुखहरु सदुपयोग गर्दै वृक्षरोपण गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
सव डिविजन कार्यालय गोरुसिंगेका प्रमुख वसन्त थापा, सामुदायिक वन उपभोक्ता महासंघका नगर सदस्य दुर्गा पौडेल, भलवाड स्वास्थय चौकी प्रमुख जित विकास रायमाझी, पत्रकार बाबुराम रायमाझी, बाणगंगा नगरपालिका कार्यपालिका सदस्य केशरा गुरुङ, समाजसेवी नारायण खनाल, सामुदायिक वनको तर्फबाट खेलराज पौडेल लगायतले शुभकामना मन्तब्य राख्दै वनको संरक्षण र संवद्र्धनमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको थियो ।
त्यस्तै वनका अध्यक्ष हरिराज घिमिरेले सबै उपभोक्ताहरुको साझा सम्पति वन भएकाले वनको संरक्षणमा जुट्नुहुने समिती, कर्मचारी तथा सम्पुर्ण उपभोक्ताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी कार्ययोजना प्रस्तुत गर्दै विभिन्न विकास निर्माणका कार्यहरुमा पनि सामुदायिक वनले योगदान गर्ने बताउनुभयो । अध्यक्ष घिमिरेले अधिवेशनबाट बन्ने नयाँ नेतृत्वलाई बधाई दिदै कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका संस्थापक अध्यक्ष पुर्ण चन्द्र परियारले वन संरक्षणसंग सम्बन्धित मन्तब्य राख्दै सांगीतिक प्रस्तुतीसंगै मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
कार्यक्रम मार्फत वनले ज्येष्ठ नागरिक २६ जना, एकल महिला ४९ जना, एकल पुरुष १० जना र १२ जना गरिव जेहेनदार विद्यार्थीहरुलाई खादा, नगद तथा शैक्षिक सामग्री सहित सम्मान गरेको छ ।
डिविजन वन कार्यालयका सहायक वन अधिकृत मदन शाण्डिल्य, वनका पदाधिकारी, पत्रकार, समाजसेवीको आतिथ्यता तथा उपभोक्ताहरुको उपस्थिती रहेको कार्यक्रम वनका उपाध्यक्ष देव बहादुर श्रीसको स्वागत मन्तब्य तथा सचिव माधुरी सेन गिरीको सञ्चालनमा सम्पन्न भएको हो ।
यता ८ औं अधिवेशन अन्तर्गत जित विकास रायमाझीको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरिएको छ । जसको सदस्यहरुमा नारायण खनाल र बाबुराम रायमाझी रहनुभएको छ । वनको १५ जनाको मुल समितीका लागि ४६ जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन मण्डलका सदस्य बाबुराम रायमाझीले जानकारी दिनुभएको छ । वनका ४ सय ८० उपभोक्ता रहेका छन् ।

