बाणगंगा ६ मा निःशुल्क आँखा जांच तथा खुल्ला रक्तदान कार्यक्रम, वडावासी हर्षित

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ६ ले सामाजिक तथा मानवीय क्षेत्रमा निकै महत्वपुर्ण कार्य गरेको छ । वडा कार्यालयको आयोजनामा सबै नागरिकहरुका लागि निःशुल्क आँखा जांच कार्यक्रम तथा खुल्ला रक्तदान कार्यक्रम गरि वडावासीलाई स्थानीय सरकारको महशुुस गराएको बाणगंगा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष करुण टण्डनले जानकारी दिनुभएको छ ।

जस अन्तर्गत वडा कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु जिल्लाको शाखाको सहयोगमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा ५८ प्वाईन्ट रगत संकलन भएको छ । त्यस्तै वडा कार्यालयको आयोजना तथा नेपाल नेत्र ज्योती संघ तौलिहवा शाखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न निःशुल्क आँखा जांच कार्यक्रम मार्फत ४ सय ४७ जनाले लाभ लिएका छन् । जसमध्ये ९५ जनाको निःशुल्क मोतिया विन्दुको अप्रेसनका लागि तौलिहवा रिफर गरिएको छ ।

वडाध्यक्ष करुण टण्डनले भौतिक विकास निर्माणले मात्र समृद्ध नहुने भन्दै स्वास्थ्य क्षेत्रमा लगाएको लगानी खेर नजाने बताउनुभयो । उहाँले वडावासीको स्वास्थ्यलाई विशेष चासोका साथ वडाको नीति तथा कार्यक्रम निर्माण गरिएको बताउनुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका वडाध्यक्ष टण्डनले वडाको स्वास्थ्य चौकीलाई व्यवस्थित गरि वडावासीलाई आवश्यक पर्ने स्वास्थ्य गुणस्तरमा आफु सदैव लागिपर्ने बताउनुभयो । उहाँले स्वस्थ रहौं, समृद्ध बनौं भन्ने मुख्य मर्म अनुसार रक्तदान कार्यक्रमको आयोजना गरिएकाले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले नगरपालिकाले स्वास्थ्य, शिक्षा लगायतका महत्वपुर्ण क्षेत्रलाई प्राथमिकताका साथ जोड दिएको बताउनुभयो । उहाँले वडाले गरेको यो प्रशंसनीय काम प्रति वडाध्यक्ष टण्डनलाई धन्यवाद व्यक्त गर्दै हरेक वडामा प्रभावकारी योजना मार्फत नगरवासीको ईच्छा चाहान अनुसार काम गर्ने बताउनुभयो ।

त्यस्तै बाणगंगा नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले मन्तब्य राख्दै स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील विषयमा नगरपालिका सदैव सचेत रहेको बताउनुभयो ।

स्वास्थ्य सेवा पाएसंगै वडावासीले वडाध्यक्ष टण्डनलाई धन्यवाद व्यक्त गर्दै खुसी व्यक्त गरेका छन् ।

 

बाणगंगा नगरपालिका वडा नं. ६ ले सबै नागरिकहरुका लागि निःशुल्क आँखा जांच कार्यक्रम तथा खुल्ला रक्तदान कार्यक्रमका तस्बिरहरु :


प्रकाशित : २०७९ पुष ८, शुक्रबार २०:१२