विश्व बैंकको १० करोड डलर ऋण सम्झौतालाई अन्तिम रूप दिन वार्ता समिति गठन गर्ने सरकारको निर्णय

[sharethis-inline-buttons]

लुदअ फागुन १६, काठमाण्डौ
सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैङ्कबाट प्राप्त हुने १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋणसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

हिजो सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज मङ्गलवार सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वार्ता टोली गठन गर्ने जानकारी गराउनुभएको हो । यस्तै विश्व बैंकबाटै प्राप्त हुने ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदान सहायतासम्बन्धी सम्झौतालाई पनि अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

बैठकले कर्णाली कोरिडोर ४ सय केभी प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले यसअघि विभिन्न मितिमा नेपाल सरकार, मन्त्रिपरिषदबाट शहीद घोषणा भई नेपाल राजपत्रमा नियमावली प्रकाशन हुन बाँकी रहेका शहीदहरूको नामावली गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।

 


प्रकाशित : २०७९ फाल्गुन १६, मंगलवार १७:५४