![](https://lumbinidarpanonline.com/wp-content/uploads/2023/02/opmcm_DG4MmV5tD7-1.jpg)
लुदअ फागुन १६, काठमाण्डौ
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको चुनावपछि हुने बताउनुभएको छ ।
मङ्गलवार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको चुनावपछि हुने बताउनुभएको हो । नयाँ गठबन्धन बनेको र को–को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले त्यसको टुङ्गो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उहाँले बताउनुभयो ।
त्यस्तै प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको चुनावपछि मात्रै लिने प्रवक्ता शर्माले जानकारी गराउनुभयो । राष्ट्रपतिको चुनावका लागि ध्यान केन्द्रित गर्नुपरेकाले त्यसअघि विश्वासको मत लिने कार्यक्रम नरहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले निर्धारित समयभित्रै विश्वासको मत लिइने बताउनुभयो ।
प्रवक्ता शर्माले देशमा फेरिएको राजनीतिक परिस्थितिका कारण संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषद्को ५२ औँ सभामा भाग लिन तत्कालीन परराष्ट्र मन्त्री डा. विमला राई पौड्याल जान नसक्नुभएको बताउनुभयो । त्यो कार्यक्रमको प्रयोजनका लागि मात्रै प्रधानमन्त्रीको सल्लाहकारको रूपमा नेपालको प्रतिनिधित्व गर्दै पूर्व कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई पठाइएको उहाँले बताउनुभयो ।