
गठबन्धनबाट उपराष्ट्रपति पदका लागि तीनजनाको उमेदवारी पर्ने भएको छ । आज बसेको गठबन्धनको बैठकमा जनमत पार्टी र जनता समाजवादी पार्टी, नेपालले आआफ्नो दाबी नछोडे पछि तीनजनाको उमेदवारी पर्ने देखिएको छ ।
बालुवाटारमा बसेको गठबन्धनको बैठक पछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाउने बताए ।
उनले उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उमेदवार हुनुपर्ने निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि सोही रहेको भन्दै जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्ने बताए ।
उनले जसपाले पनि दुई जनाको उमेदवारी दर्ता गर्ने अवस्था देखिएको जानकारी दिए । यसका लागि जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । उक्त बैठकले कसकसलाई उमेदवार बनाउने भन्ने निर्णय गर्नेछ ।
जनमत पार्टीका अध्यक्ष राउतले गठबन्धनबाट आज तीनजनाको उमेदवारी पर्ने अवस्था देखिए पनि आइतवारसम्म सर्वसम्मतिले एकजना मात्रै उमेदवारी हुने स्पष्ट पारे ।