उपनिर्वाचनमा माओवादी उम्मेदवार विहीन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

सरकारको नेतृत्व गरेको संसद्को तेस्रो शक्ति माओवादी केन्द्र उपनिर्वाचनमा उम्मेदवारविहीन भएको छ । चितवन-२, तनहुँ-१, बारा-२ मा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने निर्णयसहित माओवादी माओवादी केन्द्र उम्मेदवारविहीन भएको हो ।

माओवादी नेताहरूले अहिलेको गठबन्धनलाई निरन्तरता दिन आफ्नो पार्टीले उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवारी नदिएको दाबी गरेका छन् । आफ्ना मतले निर्वाचन परिणाम गठबन्धनको पक्षमा पार्ने माओवादी नेताहरूको दाबी छ । ‘पहिला माओवादीको भागमा नपरेका क्षेत्र भए । अहिले पनि गठबन्धनले गर्दा उमेदवारी दिन पाएन,’ माओवादी महासचिव देव गुरुङले भने ।

गत मंसिर ४ को निर्वाचनमा चितवन-२, तनहुँ-१ मा कांग्रेस र बारा-२ माआवादीले उम्मेदवारी दिने गरी तत्कालीन गठबन्धनमा सिट बाँडफाँट भएको थियो । उपनिर्वाचनमा माओवादीले चितवन २ र तनहुँ १ कांग्रेसकै उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएको छ । तनहुँ-१ बाट कांग्रेसका गोविन्द भट्टराई र चितवन-२ मा कांग्रेसकै जितनाराण श्रेष्ठ गठबन्धनका साझा उम्मेदवार बनेका छन् ।

तनहुँ-१ मा माओवादी स्थानीय नेतृत्वले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाएकाले उपनिर्वाचनमा आफूले उम्मेदवार पाउनुपर्ने माग गरे पनि केन्द्रको निर्णयअनुसार गठबन्धनबाट भट्टराई साझा उम्मेदवार बनेका हुन् ।

बारा-२ भने माओवादीले जसपाका अध्यक्ष उपेन्द्र यादवका लागि छाडेको छ । मंसिर ४ को निर्वाचनमा यादव नेतृत्वको जसपा र एमालेबीच चुनावी तालमेल हुँदा बारा २ जसपाको भागमा परेको थियो । जहाँ जसपाका रामसहायप्रसाद यादवले माओवादीका शिवचन्द्र कुसवाहालाई ३ सय ५४ मतले हराएका थिए ।

निर्वाचनपछि नयाँ गठबन्धनमा आएका यादवले रामसहायप्रसादलाई राष्ट्रपति बनाएर आफू संसद् आउने बाटो खुला गरेका थिए । स्रोतका अनुसार माओवादी अध्यक्ष दाहालले भविष्यमा समाजवादी मोर्चा बनाउने गरी यादवलाई बारा-२ मा गठबन्धनको उम्मेदवार बनाउन भूमिका खेलेका हुन् । गठबन्धनका अन्य साझेदार दल कांग्रेस र एकीकृत समाजवादीले पनि बारा-२ मा यादवलाई सघाउने निर्णय गरेका छन् ।

गत मंसिरको निर्वाचनमा माओवादीले चितवन-२ मा समानुपातिकतर्फ ८ हजार ४ सय ७, तनहुँ १ मा ७ हजार ३ सय २६ र बारा २ मा ३ हजार २ सय ६५ मत पाएको थियो । बारा २ मा गठबन्धनको सहयोगमा माओवादी उम्मेदवार शिवचन्द्रप्रसाद कुसवाहाले १३ हजार ४६८ मत पाएका थिए । बारा-२ मा विजयी भएका जसपाका रामसहायप्रसाद यादवले १३ हजार ८२२ मत पाएका थिए ।


प्रकाशित : २०७९ चैत्र २०, सोमबार २०:४६