
हरि आचार्य, कपिलवस्तु
नयाँ नयाँ रचनात्मक र सिर्जनात्मक काम गर्दै विकासका योजनाहरु अरु वडा भन्दा छिटो छरितो सम्पन्न गर्दै आएको कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ७ नं. वडाले यस बर्ष पनि आफ्नो पहिचान अग्रस्थानमा कायम गर्न सफल भएको छ । चालु आर्थिक बर्ष २०७९/०८० मा पनि अन्य वडाहरु भन्दा बढी योजनाहरु छनौट गरेको ७ नं. वडाले नै छिटो छरितो योजनाहरु सञ्चालन, अनुगमन र फर्स्यौट (निकासा) गर्न नगरपालिकामै रेकर्ड कायम गरेको छ ।]
थोरै योजना छनौट गरेका वडाले छिटो छरितो योजना सक्नुपर्नेमा धेरै योजना छनौट गरेको वडाले छिटो योजना सम्पन्न गरि जनतालाई विकासको अनुभुति दिलाएको छ । योजना सम्पन्न गर्नमा सानो वडा र ठुलो वडा भन्ने हुंदैन । किनकी योजनाहरु सञ्चालन र फरफारक गर्ने विधि र प्रक्रिया सबैको एउटै हुन्छ । तसर्थ ७ नं. वडा विकासमा अब्बल सावित भएको नगरपालिकाको तथ्यांकले देखाएको छ ।
बाणगंगा नगरपालिकाबाट प्राप्त तथ्यांक अनुसार २०७९ श्रावण १ देखि बैशाख सम्मको वडागत योजना फर्स्यौट (निकासा) को अवस्था यस्तो रहेको छ ।
यो तथ्यांकलाई विश्लेषण गर्दा अब निर्वाचन पछि को एक कार्यकाल सकिन करिव डेढ महिना मात्र बाँकी छ । आगामी आर्थिक बर्ष २०८०/८१ का लागि योजना बनाउने बेला भईसकेको छ । तसर्थ चालु आर्थिक बर्षको योजना सम्पन्न गर्न पछाडि परेका वडाहरुले कसरी शत प्रतिशत योजना सम्पन्न गर्लान् ? चासोको बिषय बनेको छ ।
वडा नंं ७ को जम्मा ५७ वटा योजनाहरु मध्ये ७२ प्रतिशत योजनाको फर्स्यौट भएको तथ्यांक नगरपालिकासंग छ । यो बर्षका योजना अबको केहि दिनमा सकाउने र एकोहोरो भई आगामी आर्थिक बर्षका लागि योजना निर्माण तर्फ केन्द्रित हुने वडाध्यक्ष बिष्णु गिरी बताउनुहुन्छ । अघिल्लो कार्यकालमा पनि ७ नम्बर वडा योजना छिटो छरितो संचालन गर्न ५ बर्ष नै बाणगंगा नगरपालिकामा अगाडि रहेको छ । दोस्रो कार्यकालको पहिलो बर्ष पनि सोहि वडा नै पहिलो भएको छ ।
त्यस्तै योजना फर्स्यौट गर्नेमा दोस्रोमा वडा नंं ४ रहेको छ । जस्ले जम्मा ३४ योजना मध्ये ६८ प्रतिशत योजना फर्स्यौट गरेको छ भने तेस्रोमा रहेको वडा नंं २ ले जम्मा ३२ योजना मध्ये ६७ प्रतिशत फर्स्यौट गर्न सफल भएको छ ।
यता क्रमशः वडा नंं. १ ले जम्मा ४२ वटा योजना मध्ये ४९ प्रतिशत, ३ ले ४३ जम्मा योजना मध्ये ४५ प्रतिशत, वडा नंं ५ ले जम्मा ३७ योजना मध्ये १७ प्रतिशत, वडा नंं ६ ले जम्मा ३३ योजना मध्ये ४७ प्रतिशत योजना निकासा गरेको छ । त्यस्तै वडा नंं ८ ले जम्मा ५७ वटा योजना मध्ये ४४ प्रतिशत, वडा नंं ९ ले जम्मा ४७ योजना मध्ये ६६ प्रतिशत, वडा नं. १० ले जम्मा ६१ योजना मध्ये ५६ प्रतिशत र वडा नंं. ११ का जम्मा ४८ योजना मध्ये ३७ प्रतिशत योजना फर्स्यौट अर्थात निकासा गर्न सफल भएका छन् ।
हरेक बर्ष बाणगंगा नगरपालिकामै विकासमा अगाडि आउनुमा के राज छ ? भनी वडाध्यक्ष गिरीलाई प्रश्न गर्दा वडाका जनप्रतिनिधि र टोल विकास संस्थाको सक्रियता र जनताको साथ छ । जिम्मेवारी लिईसके पछि पुरा गर्नपर्छ, जनताको अमुल्य मतलाई खेर फाल्नु हुंदैन भन्ने सोंचेर सोहि अनुसार आफु अहोरात्र खटेर काम गरेकाले यो नतिजा आउन सफल भएको बताउनुहुन्छ ।
अरु भन्दा फरक काम गर्न रुचाउने वडाध्यक्ष गिरीले सुत्केरी महिलाहरुलाई घरघरमा नै गई घ्यु, मह, लोकल भाले, अण्डा लगायतका पौष्टिक आहार दिने, महिला आत्मनिर्भरताका लागि वडा भित्र सिलाई कटाई तालिम गरेका र सिलाउन सीप भएका सबैलाई सिलाई मेसिन वितरण, फुलहरु लगाई घर आँगन सिंगार्नेलाई फुलका विरुवा र गमलाहरु दिई सम्मान गर्ने, सेवामा पहुँच पु–याउन वाल विकास केन्द्रका सहयोगी कार्यकता, महिला स्वयंसेवीका, स्वास्थ्यकर्मीलाई साईकल, दलितलाई पञ्चेबाजा, आरन सञ्चालन सामग्रीहरु दिने, अपांगता भएका व्यक्ति आत्मनिर्भरताका लागि ब्याउने बाख्रा, बृद्धबृद्धा सम्मान संरक्षणका लागि पोषण, न्यानो सल, ज्याकेट, वडा भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत सबै वालवालिकाहरुलाई जाडोमा न्यानो स्वीटर, बाल विकास केन्द्र र विद्यालयलाई टि.भी., ल्यापटप, प्रोजेक्टर, शैक्षिक सामग्री, युवाहरुलाई खेलमा प्रतिस्पर्धा, खेल सामग्री, पोशाक, व्यवसायीक युवा तथा कृषकलाई प्रोत्साहन अनुदान, एक घर एक कागती विरुवा वितरण कार्यक्रम, निःशुल्क स्वास्थ्य उपचार, धरहरा निर्माण, फुसको छानो हटाऔं, कर्कटपाता लगाऔं अभियान संचालन, निःशुल्क बिद्युतका मिटरहरु वितरण, चोक चोकमा फलामको आकर्षक र आरामदायी छाता प्रतिक्षालयहरु निर्माण जस्ता थुप्रै रचनात्मक र सिर्जनात्मक कामहरु गरि ७ नं. वडाले चर्चा कमाउदै आएको छ ।
अघिल्लो ५ बर्षे कार्यकाल र पछिल्लो निर्वाचनको पहिलो कार्यकालमा यी सबै कामले वडाध्यक्ष बिष्णु गिरी एक कुशल जनप्रतिनिधिको रुपमा स्थापित भई जनतालाई स्थानीय सरकारको अनुभुति दिलाउन सफल हुनुभएको वडावासीले बताएका छन् ।
वडा नं. ७ मा वडाध्यक्ष गिरी सहित वडा सदस्यहरु मुम बहादुर पाण्डे, हरि शंकर पौडेल, सावित्रा थारु र पार्वती सुनारको जनप्रतिनिधिको टिमले सक्रियता पुर्वक वडावासीको चाहाना अनुरुप काम गर्नका लागि खटिरहेको वडा सचिव सन्तोष कुमार बैठाले बताउनुभयो ।