एक करोड भारतीयलाई नागरिकता दिने बाटो खोल्न ‘नागरिकता विधेयक’ : भट्ट

[sharethis-inline-buttons]

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक नेपाल र नेपालीको हितमा नभएको बताउनुभएको छ।

राजमो रुपन्देहीको शुक्रबारदेखि बुटवलमा शुरु भएको छैठौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै महासचिव भट्टले अहिलेको नागरिकता विधेयक राष्ट्रघाती भएको दोहोर्याउनुभयो ।

भारतलाई खुसी पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई दबाब दिएर नागरिकता विधेयक प्रमाणीकरण गरिएको भन्दै महासचिव भट्टले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गरेसँगै राष्ट्रपति जस्तो सम्मानित संस्था विवादमा मुछिएको बताउनुभयो ।

‘सरकारले गैर नेपालीलाई नागरिकता दिन नागरिकता विधेयक ल्याएको हो’ उहाँले भन्नुभयो, ‘नागरिकता विधेयक ल्याउनुको प्रचण्डको प्रमुख उद्वेश्य भारतलाई खुशी पार्नु हो ।’

उहाँले यो विधेयक आएसँगै राष्ट्रियतामाथि खतरा बढेको तथा सार्वभौम सत्ता र अखण्डतामाथि भारतीय एकाधिकार बढेको तर्क गर्नुभयो।

अहिलेको नागरिकता विधेयकले नेपालमा रहेका एक करोड भारतीयलाई नागकिरता दिन बाटो खुलेको बताउँदै अब नेपाली अल्पमतमा पर्ने सम्भावना बढेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण नेपालको हितमा नभएको स्पष्ट पार्नुभयो । भारत र अमेरिकाले चीनविरुद्व लड्न सरकारलाई प्रयोग गर्न सक्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो–‘प्रधानमन्त्री भारत गएर भारतले सीमा मिचेको विषयमा बोल्न डराउने अनी नेपाल फर्केर भ्रमण देशको लागि ऐतिहासिक भयो भन्नु नेपाली र नेपालीमाथि गरिएको बेइमानी हो ।’

नेपालको भूमिलाई भारतले अखण्ड भारतको नक्सामा समावेश गर्नु सांस्कृतिक नक्सा नभएको र राजनीतिक नक्सा भएको बताउँदै नेता भट्टले भन्नुभयो–‘ त्यहीँबाट पनि प्रष्ट हुन्छ भारतले नेपालको हित चाहेको छैन ।’

कार्यक्रममा नेकपा रुपन्देहीका इन्चार्ज शरद वली, नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जिसी, नेकपा एमाले रुपन्देहीका सचिवालय सदस्य ऋषिराम पाण्डेय, क्रान्तिकारी कम्युनिष्ट पार्टीका विनोद मरासिनी, एकीकृत समाजवादीका श्रीराम यादवले सम्मेलन सफताको शुभकामना दिनुभएको थियो ।

राजमो रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षता र सचिव टानबहादुर केसीको सञ्चालनमा भएको कार्यक्रममा राजमोकी नेतृ इन्द्रिरा ज्ञवाली, जसपा रुपन्देही अध्यक्ष महेन्द्र यादव, लगायतले पनि सम्बोधन गर्नुभएको थियो ।


प्रकाशित : २०८० जेष्ठ २७, शनिबार १८:५९