
पार्वती आचार्य, कपिलवस्तु
नेपालको वर्तमान संबिधान प्रारम्भ हुनु भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई नेपाल नागरिकता (पहिलो संशोधन ) ऐन २०७९ ले गरेको नयाँ व्यवस्था बमोजिम कपिलवस्तु जिल्लामा नागरिकता बितरण कार्यको शुभारम्भ भएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यद्वारा महाराजगंज नगरपालिका १ का २४ वर्षिय सुदीप बिश्वासलाई वंशजको आधारमा नेपाली नागरिकता प्रदान गरी सो कार्यको शुभारम्भ गर्नु भएको हो ।
लामो प्रतिक्षा पश्चात सेवाग्राही सुदीप बिश्वासले प्रमुख जिल्ला अधिकारी आचार्यबाट वंशजको आधारमा नेपाली नागरिकता लिन पाउँदा हर्षित हुनु भएको छ । स्नातक तह सम्मको अध्ययन पुरा हुँदा सम्म तथा नागरिकता प्राप्त गर्ने उमेर पुगे पनि नागरिकता नपाएको र बिभिन्न संघर्ष पश्चात नागरिकता प्राप्त गर्न सफल भएको भन्दै आफ्नो अधिकार प्राप्त भएको भन्दै खुशी व्यक्त गर्नु भयो ।
हाल सम्म जागिर पाउन र अन्य कैयौं अवसरहरुबाट समेत वञ्चित हुनु परेको उनको गुनासो थियो । अब भने आफ्नो बाटो खुलेको भन्दै नेपाल सरकारलाई धन्यवाद दिनु भयो । उहाँ बुवा सुदाम बिश्वास र आमा नानी माया आचार्यको जेठो सन्तान हुनु हुन्छ ।
नेपाल नागरिकता ऐन २०६३ बमोजिम बिगतमा यस कपिलवस्तु जिल्लामा करिव पाँच हजारको संख्याले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेकोे सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनु भयो ।