
लुदअ असार २१, काठमाण्डौ
राष्ट्रियसभाको आज बिहीवारको बैठकमा नेकपा एमालेका सांसदहरूले अवरोध गरेपछि बैठक स्थगित भएको छ । बैठक सुरु हुनासाथ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलका सांसद भैरवसुन्दर श्रेष्ठलाई बोल्नका लागि अनुमति दिनुभयो ।
सांसद श्रेष्ठले केही दिन पहिलेको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति राष्ट्रियहित विपरीत रहेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्रीको भनाइ गलत भएको तर्क गर्दै त्यसविरुद्ध विरोध गर्ने आफ्नो संसदीय दलको निर्णय भएको बताउनुभयो ।
सभाध्यक्ष तिमिल्सिनाले पटक–पटक एमालेका सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गर्नुभयो । तर सांसदहरूले उभिएर विरोध जनाइरहे । सभाध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीलाई बोलाएर उहाँको धारणा सुन्ने वातावरण बनाउने र बजेटको संवेदनशीलतालाई ध्यानमा राखेर बैठक सञ्चालनका लागि आग्रह गर्नुभएको थियो । तर एमाले सांसदहरूले विरोध जनाइरहेपछि संसद् बैठक स्थगित भयो
राष्ट्रियसभाको अर्को बैठक भोलि शुक्रवार दिउँसो १२ बजेर २९ मिनेटमा बस्नेछ ।