लुदअ असार २८, काठमाण्डौ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बिहीवार राष्ट्रिय सभा बैठकमा मन्त्री ज्वालाले अध्ययनविना डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक विपत्ति भइरहेका भन्दै असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । उहाँले डोजरे विकासका कारण सयौँ बिघा खेतीयोग्य जमिन पुरिने र पुल तथा पूर्वाधारमा क्षति हुने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘निश्चय पनि सडक निर्माण एक प्राविधिक विषय हो । विना अध्ययन डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक विपत्ति हुँदै गइरहेको कुरा सत्य हो । कठिन भू–बनोटबाट सडक निर्माण गर्नुपर्ने, चलायमान पहाडको पाखामा सडक निर्माण गर्नुपर्ने, सडक निर्माणका क्रममा निस्किएका ढुङ्गा माटोको उचित व्यवस्थापन नहुँदा त्यस्तो डोजरे विकासले सयौँ बिघा खेतीयोग्य जमिन पुरिने र बहुमूल्य पुल तथा पूर्वाधारमा क्षति हुने गरेको छ । हामी असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न प्रतिबद्ध छौँ ।’
मन्त्री ज्वालाले नारायणघाट–मुग्लिन सडक खण्डमा पहिरोका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानमा उपाय खोजी गरी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै पृथ्वी राजमार्गको नौबीसे–काठमाण्डौ सडक खण्डको पनि विस्तार कार्य अगाडि बढाइरहेको उहाँले बताउनुभयो ।
उहाँले काठमाण्डौलगायत विभिन्न राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्नका लागि सम्बन्धित निकायलाई मन्त्रालयले निर्देशन दिएको पनि बताउनुभयो । त्यस्तै सवारी चालक अनुमतिपत्र सेवाग्राहीलाई छिटोभन्दा छिटो उपलब्ध हुने व्यवस्था गरिने पनि मन्त्रीको ज्वालाको भनाइ छ ।





















