
हरि आचार्य, कपिलवस्तु
ठेक्का सकिएको महिनादिन नपुग्दै कपिलवस्तुको बाणगंगा नदीमा नदीजन्य पदार्थ चोरी सुरु भएको छ ।
नेपाल सरकारको ढुंगा गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ मा सडक, पुलको एक किलोमिटर तल र पाँच सय मिटर माथिको नदीजन्य पदार्थ उत्खनन् र संकलन गर्न नपाउने मापदण्ड छ । यो मापदण्डको धज्जी उडाउँदै दैनिक रुपमा रातीको समयमा बाणगंगा पुल नजिकै ट्याक्टरका ट्याक्टरले नदीजन्य पदार्थ उत्खनन् गर्दै ओसार पसार गरिरहेका छन् ।
बाणगंगा नदीको पुल मुनिबाट रातारात नदी जन्य पदार्थ चोरी हुदाँ समेत नगर प्रहरी वेखबर छन् । हालै बाणगंगा नगरले नगर प्रहरीको व्यवस्थापन गरेको छ । ति नगर प्रहरीहरु मेयर हाकिमको अगाडी पछाडी राखेर स्वभिमानलाई उचो ठान्ने जनप्रतिनिधि र हाकिमको रवैया देख्न सकिन्छ । नगर प्रहरी प्रमुख बाबुराम मरासिनीले आफुहरु डिउटीमै रहेको र यसबारे केहि जानकारी नभएको बताए । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ स्थित पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाणगंगा नदीको मुल मुनिबाटै रातारात नदी जन्य पदार्थको अवैध चोरी निकासी भएको पाईएको हो ।
जिल्लाको समग्र नदीजन्य पदार्थको अनुगमन र नियमन गर्ने जिल्ला समन्वय समिति लगायतका जिम्मेवार निकाय पनि यस विषयमा मौन छन् । ईलाका प्रहरी कार्यालय पिपरामा प्रहरी छ । प्रहरी पनि रमिते बनिरहेको छ । यो उत्खनन्ले बाणगंगा नदीको पुल खतरामा परेको भन्दै स्थानीय चिन्तित भएका छन् । अवैध र जथाभावी दोहनका कारण नदीले भंगालो परिवर्तन गरेर खेती योग्य जमिन कटान गर्ने र बाढी गाउँमा पसेर डुबानको समस्या हुने जोखिम समेत बढेको छ ।
यस बिषयमा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल संग बुझ्दा उनले केहि समय देखि आफु बिरामी रहेको र तुरुन्त यसको अनुगमन गर्ने बताए । उनले नगरपालिकाको राजश्व शाखालाई त्यसको अनुगमनका लागि निर्देशन दिने बताउँदै कानुन विपरित नदी जन्य पदार्थको उत्खनन् गर्नेलाई कारवाही समेत गर्ने बताए ।
त्यस्तै बाणगंगा नगरपालिकाका उप प्रमुख तथा अुनगमन समिती संयोजक रीता कुमारी चौधरीले यसको बारेमा बल्ल जानकारी पाएको र अब अनुगमनलाई अगाडि बढाउने बताईन् ।
यता बाणगंगा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष बाबुराम अर्यालले पुल नजिकैबाट रातीमा नदीजन्य पदार्थको चोरी भएको भन्ने खबर बल्ल थाहा पाएको बताउँदै यसरि पुल र वडावासी नै जोखिममा पर्ने गरि नदी जन्य पदार्थको चोरी कानुन विपरित रहेको बताए । वडाध्यक्ष अर्यालले अब नगरपालिकामा जानकारी गराई अनुगमन गर्ने बताए ।
यता प्रहरीलाई खबर गर्दा पनि प्रहरीले ध्यान नदिएको स्थानीयले बताएका छन् ।
नगरपालिकाले नागरिकहरुको सुरक्षा र कानुन विपरितका कार्यहरु रोक्न नगर प्रहरीको व्यबस्था गरेको हो कि जनप्रतिनिधिहरुको सुरक्षाका लागि हो ? नागरिकले प्रश्न चिन्ह खडा गरेका छन् ।
भिडियो