मोहन बेल्वासे , जितपुर
कपिलवस्तुमा रहेका दुई भन्सार कार्यालयले गत आर्थिक वर्षमा राजश्व संकलनको लक्ष्य पूरा गर्न असफल भएका छन् ।
जिल्लाको कृष्णनगरमा रहेको भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ५२.७२ प्रतिशत हाराहारीमा मात्र राजश्व संकलन गरेका छन् ।
विश्वव्यापी आर्थिक मन्दीका कारण कपिलवस्तुको सुठौली नाकामा रहेको सुठौली भन्सार कार्यालय र कृष्णनगर दुवै भन्सार कार्यालयले भन्सार विभागले दिएको लक्ष्यको कमै राजश्व संकलन भएको भन्सार कार्यालयका कर्मचारी बताउँछन् । यसवर्ष सुठौली भन्सार कार्यालयको राजश्व असुली दर समेत घट्दै गएको छ । गएको आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य भन्दा बढि राजश्व असुल गरेको कार्यालयले त्यसपछि भने लक्ष्य भन्दा कम राजश्व असुली भएको बताएको छ ।
सुठौली भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को मा लक्ष्य भन्दा आधा मात्र राजश्व उठाउन सफल भएको हो । आर्थिक वर्ष २०७८/७९ को चैत्र मसान्त सम्म ७१.१३ प्रतिशत राजश्व असुली गरेको भन्सारले गत आर्थिक वर्ष वर्ष २०७९/०८० को असार मसान्त सम्म ४४.६८ प्रतिशत मात्र राजश्व असुली गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा दुई अर्ब ७ करोड ९७ लाख २७ हजार रुपैयाँ राजश्व असुल गर्ने लक्ष्य राखेको भएपनि ९३ करोड २८ लाख ६७ हजार रुपैयाँ मात्रै असुल गरेको छ ।
अघिल्लो आर्थिक वर्ष लक्ष्य भन्दा असुली बढि भएपछि भन्सार विभागले सुठौली भन्सार कार्यालयको वार्षिक राजश्व असुली गर्ने लक्ष्य बृद्धि गरी आर्थिक वर्षमा २०७९/८० मा सो रकम निर्धारण गरेको भन्सार अधिकृत चुरा बहादुर सर्तुङ्खीले लुम्बिनी दर्पणलाई बताए ।
सुठौली भन्सार कार्यालयका अधिकृत सर्तुङ्खीले आयात घटेको कारणले गर्दा राजश्व असुलीमा संकुचन आएको बताए । उनले गाडी, मोटरसाइकल जस्ता विलासितामा सामानहरु र महंगा सामानहरु यस नाकाबाट आयातमा रोक लगाइएकोले अनिवार्य सामानहरु मात्रै आयात भइरहेको बताए । बैंकहरुले व्यापारीलाई ऋण लगानी नगरेको कारणले पनि सामान आयात घटेको खड्काले बताए । उनले बढेको महंगी, डलरको भाउ बृद्धि, उपभोक्ताको क्रय शक्तिमा क्षयिकरण, बैंकहरुको ऋण लगानी कटौती, तरलता अभाव लगायतको कारणले आयात घट्न गई भन्सार राजश्व असुली पनि संकुचित हुँदै गएको बताए । उनले फलफुल, कोईला, खरानी, खाद्यान्न, तरकारी र केही अन्य सामानहरु मात्रै आयात भइरहेको बताए ।
सबैभन्दा बढि फिनिसिङ्ग सेरामिक्स, बेकरी सामानहरु, आलु, खुर्सानी, पापड, कागज, ब्लांकेट र गलैचा सुठौली भन्सार भएर भारतबाट भित्रिने गरेको छ ।
भन्सारमा चालु आर्थिक बर्षको कुनै पनि महिनामा लक्ष्य अनुसार राजस्व संकलन भएको थिएन । चालु आर्थिक वर्षको साउनमा १४ करोड ७३ लाख लक्ष्य रहेपनि ४४ दशमल ५३ प्रतिशत अर्थात ६ करोड ५६ लाख मात्र राजस्व संकलन भएको थियो । भदौमा १७ करोड ४२ लाखको लक्ष्य रहेकोमा ३७ दशमलव ३३ प्रतिशत ६ करोड ५० मात्र राजश्व उठेको छ । असोजमा १७ करोड ५३ लाखको लक्ष्यमा २७ दशमलव ६१ अर्थात ४ करोड ८४ लाख उठेको छ ।
कार्तिकमा १६ करोड ६४ लाखको लक्ष्यमा ५५ दशमलव १९ प्रतिशत ९ करोड १८ लाख संकलन भएको छ । मंसिरमा १८ करोड ३७ लाखको लक्ष्य मध्ये ५१ दशमलव ३७ प्रतिशत ९ करोड ४३ लाख संकलन भएको छ । पुसमा १९ करोड १४ लाखको लक्ष्यमा ५६ दशमलव ६९ प्रतिशत १० करोड ८५ लाख उठेको कार्यालयको तथ्याङ्कमा छ । आयत, मुल्य अभिबृद्धि कर, अन्तशुल्क कृषि सुधार शुल्क अन्य शीर्षकमा राजस्व संकलन भएको हो ।
‘राजश्व असुलीको लक्ष्य पूरा गर्न नसक्नुको प्रमुख कारण त विश्वव्यापी आर्थिक मन्दीको असर नै हो ,जसका कारण समग्र मालवस्तुको आयातमा ह्वात्तै कमी आयो, त्यससंगै बढि राजश्व उठ्ने इन्धन ,नयाँ सवारी साधन र औद्योगिक कच्चा पदार्थको आयातमा पनि कमी भयो ’ भन्सार अधिकृत सर्तुङ्खी बताउछन् ।
यता कृष्णनगर भन्सार कार्यालयले ५२.७८ प्रतिशत राजश्व असुली गरेको भन्सार कार्यालयका प्रमुख गगन बहादुर वि.के ले बताए ।
भन्सार कार्यालयत गत आर्थिक वर्ष २०७९/०८० मा ७ अर्व ६९ करोड २४ लाख ५ हजार लक्ष्य पाएकोमा लक्ष्यभन्दा झण्डै आधा ४ अर्व ५ करोड ९२ लाख ८३ हजार मात्र राजश्व संकलन गरेको हो ।
विश्वव्यापी आर्थिक मन्दीको असर सुख्खा बन्दरगाह भन्सारको राजश्व असुलीमा पनि परेको बताए । यससगै केहि महिना विलाशीता वस्तुहरुको आयातमा प्रतिबन्ध लागेका कारणलेपनी त्यसको नकरात्मक असर राजश्व संकलनमा परेको उनले बताए । उनले भने,‘ आर्थिक मन्दीले बजार चलायनमान नहुदाँ मालवस्तूको आयातमा कमी आयो , यससंगै नेपाल सरकारले नै केहि महिना सम्म विदेशी मदिरा , नयाँ सवारीसाधन, इलेक्ट्रोनिक्स उपकरणलगायतका विलाशीताका वस्तुहरुको आयातमा प्रतिबन्ध नै लगायो ,यी सबै कारणले भन्सारको राजश्व असुली प्रभावित हुन पुगेको हो ।’




















