भारतविरुद्ध नेपाल सम्मानजनक स्कोरतर्फ अग्रसर, आसिफ ,कुशलपछि दीपेन्द्रले सम्हाल्दै

[sharethis-inline-buttons]

काठमाडौं ।

इतिहासमै पहिलोपटक भारतको राष्ट्रिय क्रिकेट टीमसँग भिड्ने अवसर पाएको नेपालले सम्मानजनक प्रदर्शन गरिरहेको छ । वर्षाले खेल अवरुद्ध हुनुअघि नेपालले ६ विकेटको क्षतिमा १७८ रन जोड्न सफल भयो ।

नेपालका ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात दिएका थिए । उनीहरुबीच ९।५ ओभरमै ६५ रनको साझेदारी भयो । कुशलले विष्फोटक अन्दाजमा खेल्दै २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन जोडे ।

कुशल आउट भएपछि नेपालको गतिमा अलिकति ब्रेक लाग्यो । भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ल चाँडै आउट भए । त्यसपछि आसिफ र गुल्शन झाबीच ३१ रनको साझेदारी भयो ।

आसिफलाई मोहम्मद सिराजले बिराट कोहलीको हातबाट क्याच आउट हुँदा नेपाललाई ठूलो धक्का लाग्यो । त्यसबेला नेपालले २९।५ ओभरमा ५ विकेट गुमाउँदै १३२ रन जोडेको थियो । लगत्तै गुल्शन झा पनि आउट भएपछि नेपाल दवावमा पर्यो ।

तर, सातौं नम्बरमा आएका दीपेन्द्रसिंह ऐरीले नेपाललाई उकासेका छन् । उनले सोमपाल कामीसँग ३४ रनको अविजित साझेदारी भइसकेको छ । दीपेन्द्रले निकै सकारात्मक अन्दाजमा खेलिरहेका छन् भने सोमपालले बलियो साथ दिएका छन् । यो जोडीले नेपाललाई २०० को स्कोर पार गराउने आशा बढेको छ ।

वर्षाले खेल रोकिनु अघि दीपेन्द्र २० बलमा ३ चौकासहित २७ रन बनाएर खेलिरहेका छन् । सोमपालले समान २० बलमा एक चौका सहित ११ रन बनाएका छन् । नेपालले सम्हालिएर ५० ओभर ब्याटिङ गरेमा २२० रनभन्दा माथिको स्कोर खडा गर्न सक्छ । नेपालसँग अझै करण केसी र सन्दीप लामिछाने छन्, जोसँग ब्याटिङ गर्ने क्षमता छ ।

 


प्रकाशित : २०८० भाद्र १८, सोमबार १८:४२