कपिलवस्तु, मंसिर २१
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा कपिलवस्तुले जिल्लामै पहिलो पटक जलन सम्बन्धी प्राथमिक उपचार तालिम प्रदान गरेको छ । चालक संघमा आवद्ध एम्बुलेन्स चालक, बाणगंगा नगरपालिका अन्तर्गत स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्यकर्मी लगायत विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लाई उक्त तालिम प्रदान गरिएको हो ।
संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा कपिलवस्तुको आयोजना, फेक्ट नेपाल र कीर्तिपुर अस्पताल काठमाण्डौको प्राविधिक सहयोगमा जलनको प्राथमिक उपचार सम्बन्धी तालिम सफलताका साथ सम्पन्न भएको संघका जिल्ला अध्यक्ष कमल घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सांसद डा.चन्द्र भण्डारीले देशमा जतिसुकै विकास र समृद्धिको कुरा गरे पनि जलन सम्बन्धी प्राथमिक उपचारको बारेमा सचेतना मुलक कार्यक्रम खासै कुनै पनि निकायले नगरेकोमा चालक संघले गर्नु निकै उदाहरणिय कार्य रहेको उल्लेख गर्नुभयो । उहाँले आफ्नो अनुभव सुनाउदै यस्ता कार्यक्रमलाई सरकारी निकायहरुले गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै विशिष्ठ अतिथि लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले चालक संघले उत्कृष्ट कार्य गरेको भन्दै बिषय सानो तर मानिसको जिवनसंग जोडिएको बिषय रहेको बताउनुभयो । उहाँले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न अनुरोध गर्नुभयो ।
तलिमका प्रमुख प्रशिक्षक किर्तीपुर अस्पताल काठमाण्डौका बरिष्ठ प्लास्टिक सर्जरी प्रोफेशर प्राध्यापक डा. शंकरमान राईले जलनका प्रकार, यसबाट बच्ने उपाय, उपचारको बारेमा प्रकाश पार्नुभएको थियो । जलनकोे समग्र अवस्थाबारे स्पष्ट पार्दै कुनै समयमा कुनै सहयोग आवश्यक परेमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष एम्बुलेन्स चालक संघ कपिलवस्तुका अध्यक्ष कमल घिमिरेले “देश भरका सम्पुर्ण एम्बुलेन्स चालक मजदुरहरु एकजुट होऔं” भन्ने मुल नाराका साथ क्रियाशिल अलि नयाँ, पृथक र सृजनशिल कार्यक्रम गर्ने उद्देश्यले १ दिने जलनकोे प्राथमिक उपचार सम्बन्धी तालिमको आयोजना गरेको बताउनुभयो । उहाँले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्दै संघले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष घिमिरेले विशेष गरि आगलागी, विद्युत सर्ट, यातायातका साधनबाट, पेट्रोलियम पदार्थबाट, विद्युत सर्ट लगायत दैनिक क्रियाकिलापका विभिन्न माध्यमबाट कसैको शरिरमा पोल्यो वा जल्यो भने अस्पताल नपु¥याउन्जेल सम्म वा तत्कालको जोखिमबाट कसरी बच्न र बचाउन सकिन्छ त ? यो बिषयमा महत्वपुर्ण र उपयोगी जानकारी तालिममा प्रदान गरेको बताउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न अनुरोध गर्नुभयो ।
संघका अध्यक्ष घिमिरेको अध्यक्षता , बाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलको स्वागत मन्तब्य तथा संघका प्रेस सल्लाहकार हरि आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।