
तिलोत्तमा ,२८ मंसिर ।
एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण कार्यको पहिलो चरणको काम सम्पन्न भएको छ । करीब ६ महिनाको अवधिमा पहिलो चरणको काम सम्पन्न भएको हो। एक्स्ट्रा ओभल प्रालिका निर्देशक बिनोद कुवरले आफुहरुले करीब ५२ दिनमा अहिलेको पुर्वाधार तयार गरेको बताए । दुई वर्ष अघि जग्गा खरिद प्रकृया शुरु गरि तिलोत्तमा नगरपालिकाको वडा नं १७ स्थित पुर्व दरखसवामा साढे ५ विघा जग्गामा निर्माण भएको छ। फागुन १ गतेबाट मैदान खेल्न सकिने उनले दाबी गरे।
क्रिकेटमा अष्ट्रेलियाको उदाहरण दिदै जति धेरै क्रिकेट मैदानबाट धेरै खेलाडी उत्पादनमा जोड मिल्ने बताए । असोजको तेस्रो हप्ताबाट पहिलो चरणको कार्य शुरु भएको हो । ३ हजार ट्रिपर माटो राखेर मैदान सम्याईएको छ । मैदानमा दुबो लगाउने काम सम्पन्न गरिएको छ । मैदान वरपर ड्रेन निर्माण गर्नुका साथै फेन्सिङ गरिएको छ । पिच बनाईएको छ । साईड स्क्रिनको यो हप्तामै सम्पन्न हुने तयारीमा छ ।
अर्को चरणमा मिडिया सेन्टर र थप प्याराफिट निर्माणको कार्य शुरु हुनेछ। प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट मैदानलाई रंगशालाको स्वरुपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैया लाग्ने अनुमान गरिएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले खेल विकासको आधार नीति नियम, पुर्वाधार विकास र खेलकुद गतिविधि मुख्य ३ खम्बाका रुपमा रहेको बताए ।
कार्यक्रममा पुर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा ब्राण्ड एम्बेसडर शक्ति गौचनले रंगशालामा होस्टेलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर संचालन हुनेछ। रंगशाला कम्पाउण्डमा चार तलाको भवन बनाई एक सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिईने बताए। टेष्ट मान्यता पाउन प्रत्येक प्रदेशमा एक मैदान आवश्यक पर्ने बताए। काठमाडौ बाहिर दुई वटा अन्तराष्ट्रिय मैदान रहेको रुपन्देही भएकोले यो जिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन सक्ने बताए।
एक्स्ट्राटेक ओभलका चिफ अप्रेटर सुदिक्षा गौतम, मैदान निर्माणको अपरेसन पक्षको जिम्मा सुर्य कुवरले गरेका छन ।
युएईमा लामोसमय बसेर आबुधावीको शेख जायेद अन्तराष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठकले एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सात वटा पिच तयार भएको बताए ।
रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले पुर्वाधार विकासको आधार तयार भैरहेको बताए । पछिल्लोसमय पिएम कप पहिलोपटक काठमाडौ बाहिर आयोजना गर्ने अवसर पाएको भन्दै यो प्रतियोगिताको १० खेलमा केहि खेल यहाँ राख्न सकिने बताए ।

