काठमाडौं । नेपाली कांग्रेसले हिजो सम्पन्न केन्द्रीय कार्य समिति बैठकका निर्णय आज सार्वजनिक गर्ने भएको छ। पुस १२ गते सुरु भई तीन दिन चलेको बैठकका निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा हुनेछ। बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने उम्मेदवारको मापदण्ड निर्धारण गर्ने, महासमितिको बैठक परिमार्जित मिति अनुमोदन गर्ने र समुदायमा कांग्रेस अभियानलाई आगामी माघ ७ गतेदेखि २२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ।
केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभामा अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्ति, समुदाय तथा भूगोललाई प्राथमिकता दिने गरी उम्मेदवारको मापदण्ड बनाउने निर्णय गरेको छ।



















