लुदअ, कपिलवस्तु
लुम्बिनी प्रदेशमा पुस १७ गते तोकिएको प्रदेश विषयगत समिति सभापतिको निर्वाचन माघको पहिलो हप्ता गर्ने तयारी भएको छ । लुम्बिनी प्रदेश सभाले त्यसका लागि आन्तरिक गृहकार्य गरेको छ ।
प्रदेश सभाका विषयगत समितिको निर्वाचन अन्तिम समयमा दलहरूको आग्रहमा सभामुख तुलाराम घर्तीमगरले १५ गते एक सूचना निकालेर अनिश्चितकालका लागि सारेका थिए । सभामुख घर्तीमगरले पुसको २५÷२६ गते विषयगत समितिको सभापति पदका लागि निर्वाचन गर्ने मनसाय बनाए पनि दलहरूको गृहकार्य नपुगेकाले माघको पहिलो हप्ता गर्ने योजना बनाएको बताए ।
लुम्बिनी प्रदेश सभाका विषयगत समितिका सभापति भागबण्डामा चयन गर्ने तयारी गर्दै लुम्बिनी प्रदेश सभाले पुस १६ गते सभापतिको मनोनयन र १७ गते निर्वाचन गर्ने कार्य योजना सार्वजनिक गरेको थियो ।
तर मन्त्रिपरिषद् विस्तार गर्दा नेपाली कांग्रेसभित्र असन्तुष्टि भएपछि केही समयका लागि सभापतिको बाँडफाँटको विषयलाई सारिएको नेपाली कांग्रेसका एक प्रदेश सभा सदस्यले बताए ।
माओवादी लुम्बिनी प्रदेश प्रमुख सचेतक इन्द्रजित थारुले मुख्यमन्त्रीको आग्रहमा मिति सारिएको र दलहरूबिच अहिलेसम्म नयाँ मितिका बारेमा छलफल नभएको बताए
लुम्बिनीमा प्रदेशमा ६ वटा विषयगत समितिका अतिरिक्त एउटा विशेष अधिकार समिति छ । त्यसमा एमालेलाई दुई, माओवादीलाई विशेष अधिकार समिति र एउटा विषयगत समिति, नेपाली कांग्रेसलाई २ वटा समितिको सभापति दिने र एउटा समितिको सभापति साना दललाई दिने मोटामोटी सहमति भएको छ ।




















