हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ४ ठाकुरापुर स्थित श्री सहयोगी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन सम्पन्न गरिएको छ । साधारण सभामा आर्थिक बर्ष २०७९/८० को प्रगति प्रतिवेदन सहकारीका सचिव सुनिता सेन, आर्थिक प्रतिवेदन सहकारीका कोषाध्यक्ष नमुना पौडेल र लेखा प्रतिवेदन लेखा संयोजक बिनिता आचार्यले प्रस्तुत गर्नुभएको थियो । सबै प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएका छन् ।

जम्मा ८ सय १३ जना शेयर सदस्य रहेको उक्त सहकारीको शेयर पुंजी २८ लाख ९५ हजार ४ सय ३६ रहेको छ भने आर्थिक बर्ष २०७९÷८० को खुद नाफा ५ लाख १ हजार ९ सय ७४ रुपैयाँ ३० पैसा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साधारण सभामा ७० बर्ष नाघेका जेष्ठ नागरिक सदस्य १६ जना, बचतकर्ता, असल ऋणी, असल उद्यमी, अनुसासित समिती र वाल क्लवमा आवद्ध ४ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री, दोसल्ला र नगदले सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद बिष्णु पन्थीले छरिएर रहेको पुंजीलाई एकिकृत गरि ८ सय बढी महिलाहरुलाई संगठित गरेकोमा सहकारीलाई धन्यवाद दिनुभयो । उहाँले प्रदेश सरकार र स्थानीय सरकार मार्फत लक्षित वर्गका कार्यक्रम महिला बहुउद्देश्यीय सहकारी मार्फत गर्दा प्रभावकारी हुने भएको यस तर्फ आफुले पहल गर्ने बताउनुभयो । सांसद पन्थीले यो सहकारीले शेयर पुंजी वृद्धि गर्नुपर्नेमा जोड दिंदै महिला शसक्तिकरणमा कार्यक्रम मार्फत नमुना काम गर्न सुझाव दिनुभयो ।

विशिष्ठ अतिथि बाणगंगा नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरीले यो सहकारीले महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर हुनका लागि भुमिका खेलेको बताउनुभयो । उहाँले नगरपालिका मार्फत आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै बचत गर्ने बानीको बिकास गर्न अनुरोध गर्नुभयो ।

त्यस्तै विशिष्ठ अतिथि लुम्बिनी प्रदेश सहकारी संघ लेखा संयोजक तेज प्रसाद आचार्यले सहकारीको मान्यता अनुरुप यो सहकारीले महिलाहरुलाई संगठित गरेको भन्दै उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले कृषिमा आत्मनिर्भर हुनका लागि सहकारीले आफ्ना उत्पादनलाई वृद्धि गर्नुपर्नेमा जोड दिंदै बजारीकरणका लागि आवश्यक सहजिकरण गर्ने बताउनुभयो ।

कार्यक्रमका अतिथी एवं वडा नं. ४ का वडा अध्यक्ष छविलाल रेश्मी मगरले बाईसौं साधारण सभा तथा दशौं अधिबेशनको शुभकामना दिंदै महिला दिदी बहिनीहरुको हक हितको लागि सधै पैरवी गर्दै आएको बताउनु भयो । यस सहकारीलाई मजबुद बनाउन सहकारीका सम्पुर्ण पदाधिकारीहरु एकजुट भएर लाग्न आग्रह गर्नुभयो । सहकारीलाई आर्थिक रुपमा बृद्धि गर्न उत्पादन मूलक रुपमा लगानी लगाउन सकियो भने मात्र सहकारीले सफलता प्राप्त गर्ने बताउनु । अध्यक्ष रेश्मीले उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको व्यवस्थापनमा वडाको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनु भयो ।
यसैगरी साधारण सभा तथा अधिबेशनमा सहकारीका सस्ंथापक बिस्नु ढुंगाना, युनाईटेड बशुउद्देशीय सहकारी सस्थाका अध्यक्ष मुनाराम चालिसे, मेचीकाली राष्ट्रिय दैनिकका जिल्ला संवाददाता पार्वती आचार्य, जेष्ठ नागरिक अम्बिका पौडेल लगाएतले बोल्दै सहकारीले महिलाको आर्थिक शसक्तिकरणको क्षेत्रमा काम गर्दै आएको बताउनु भयो ।

सहकारीका पुर्व पदाधिकारी, पत्रकार, शेयर सदस्यहरुको उपस्थिती रहेको कार्यक्रम सहकारीका उपाध्यक्ष रमा पाण्डेको स्वागत तथा सचिव सचिव सुनिता सेनको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबिच अधिबेशनबाट रमा पाण्डेको अध्यक्षतामा ११ कार्यसमिती निर्विरोध चयन भएको छ । जसको उपाध्यक्षमा साबित्रा अर्याल, सचिवमा सुनिता सेन, सह सचिवमा डिला शर्मा, कोषाध्यक्षमा सरिता पौडेल निर्वाचित हुनु भएको छ ।
यस्तै सदस्यहरुमा बिस्नु थारु, सरस्वती पोख्रेल, लक्ष्मी शाही, राजकुमारी चौधरी, सञ्जु सेन, बिस्नुमायाँ पौडेल निर्विरोध चयन हुनु भएको छ । यसैगरी लेखा समितीतर्फ लेखा संयोजक बिनिता आचार्य, सदस्यमा लक्ष्मी क्षेत्री र दुर्गा चौधरीलाई चयन गरिएको छ । नव निर्वाचित अध्यक्ष रमा पाण्डेले सहकारीलाई अगाडी बढाउनका लागि लागिपर्ने प्रतिवद्धता जनाउनु भयो ।




















