काठमाडौं । जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित र पीडक दुवैतर्फका वकिलहरुले बहस सकेपछि लामिछानेलाई गत पुस १३ गते दोषी ठहर गरिएको थियो । आजको पेसीबाट लामिछानेको कैद सजाय ८ वर्ष तथा ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति गरी पाँच लाख रुपैयाँको तिर्नुपर्ने सजाय तोकेको हो ।
पुस १३ गते भएको सुनुवाइमा सरकारी वकिल र पीडितका वकिलले बहस गरिसकेपछि आरोपित लामिछानेको पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । उनले कुरा राखेपछि न्यायाधीश ढकालले लामिछानेलाई दोषी ठहर गरेका थिए । तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध गौशाला.२६ ले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी थिइन् । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटेलमा बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।
भदौ २३ मा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएपछि लामिछाने विदेशमा रहेका लामिछाने करिब एक महिना उतै बसेर फर्किने क्रममा असोज २० गते त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका थिए । उक्त मुद्दा जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि लामिछाने कारागार चलान भएका थिए । तर उच्च अदालत पाटनले उनलाई पुस २८ मा २० लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए ।
थुनामुक्त भएपछि उनले नेपाली टोलीको तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि खेले ।



















