पितृ र देवलाई जोड्ने पवित्र पौषे औँशी, यस्तो छ धार्मिक एवं वैदिक महत्त्व

[sharethis-inline-buttons]

काठमाडौं । अमावस्यका प्रमुख देवता अर्यमा हुन्, जुन पितृहरूका प्रमुख देवता पनि हुन् । अमावास्यमा पितृहरुका नाममा तर्पण स्नान तथा पिण्डदान गरेमा सदैव पितृ प्रसन्न भएर प्रजावृद्धि, धन–रक्षा, आयु वृद्धि तथा बल–शक्ति प्रदान हुने धार्मिक मान्यता रहिआएको छ ।

विशेषगरी गोकर्ण, विष्णुपादुका, गण्डकी, वराहक्षेत्र लगाएका तीर्थ स्थलमा स्नान, दान, श्राद्ध तथा पिण्डदानको विशेष महत्त्व रहेको छ। पूर्णीमामा चन्द्रमा पूर्णहुन्छन् भने ओँशीमा चन्द्रमा लुप्त अवस्थामा हुने भएकोले औँशी तिथिलाई बलप्रदायक पितृ तिथिका रुपमा पुराण तथा उपपुराण हरुमा व्याख्या गरिएको छ। अत. औँशीका दिन कुनै पनि तामसिक भोजन तथा नसालु पदार्थको सेवन पूर्णरूपमा निशेध गरिएको छ।

पौष महिना भगवान् सूर्यदेको विशेष पुजा तथा आराधना गर्ने महिना हो भने श्राद्धका समयमा सूर्य भगवानलाई प्रत्यक्ष पितृका रुपमा व्याख्या गरिएकाले पनि पौषे औँशीको विशेष महत्त्व रहँदै आएको छ । साधारणतया मातापिता दिवङ्गत भएको तिथिलाई आधार मानेर प्रत्येक वर्ष वार्षिक श्राद्ध गरिन्छ । जसलाई ‘एकोद्दिष्ट श्राद्ध’ भनिन्छ भने आश्विन महिनाको पितृ पक्ष कृष्ण प्रतिपदा तिथिदेखि औंशीको दिनसम्म पर्ने श्राद्ध सोह्र श्राद्ध हो । श्राद्ध पिता–माता दिवङ्गत भएको तिथिका हिसाबले गर्नुपर्दछ । यसबाहेक पौषे औंसीका दिन पनि मृत पितृहरूलाई श्राद्ध गरी सम्झना गर्ने वैदिक परम्परा रहिआएको छ ।

एकोद्दिष्ट श्राद्ध र सोह्र श्राद्धका अतिरिक्त तीर्थ जाँदा गरिने श्राद्धलाई ‘तीर्थ श्राद्ध’ भनिन्छ । यो सनातनदेखि चलिआएको शास्त्रीय विधि विधान र नियम हो । नेपाली हिन्दू संस्कारअनुसार आफ्ना पितृहरुका लागि प्रथमतस् भारतको गया तीर्थमा गई श्राद्ध गर्ने गरेको पाइन्छ । यसरी नै काशी, अयोध्या, गंगासागर, हरिद्वार, गंगोत्री, केदारनाथ, बद्रीनाथ धामको ब्रह्म कपाली आदि तीर्थहरुमा र नेपालका बागमती, पशुपति, गोकर्ण, मातातीर्थ, मुक्तिनाथको कागबेनी र नारायणीको देवघाट आदि तीर्थहरुमा श्राद्ध गरिन्छ । यस्ता तीर्थहरुमा गरिने श्राद्धलाई ‘तीर्थ श्राद्ध’ भनिन्छ ।

पौषे औँशीँका दिन विशेषगरी तीर्थ श्राद्धको विशेष महत्त्व हो । माघबाट सूर्य उत्तरायण हुनेभएकाले पौष महिना दक्षिणायनको अन्तिम बिन्दु पनि हो । यसरी दिक्षिणायनको अन्तिम विन्दुका रूपमा देखा परेको पौषे औँसीलाई विशेषगरी पितृपर्वका रुपमा शास्त्रमा व्याख्या गरिएको छ । महर्षि याज्ञवल्क्यले आफ्नो याज्ञवल्क्य स्मृतिमा लेखेका छन्– पितृहरु श्राद्धबाट नै तृप्त हुन्छन् र तृप्त आत्माले दिएको आशिर्वादले हाम्रो आयु, धन, विद्या, स्वर्ग, मोक्ष, राज्य एवं अन्य सबै सुखभोग गर्न पाउने कुरा उल्लेख गरेका छन् । श्राद्धचन्द्रिका नामक पुस्तकमा कर्मपुराणको मध्यभागबाट भनिएको छ– श्राद्धभन्दा ठूलो अरु कुनै पनि कुराहरुबाट नहुने उल्लेख गरिएको छ । त्यसैले हरेक मनुष्यले जसरी भए पनि श्राद्धको कर्म गर्नु नै पर्ने कुरा शास्त्रले अह्राएको छ ।वैदिक परम्परा अनुसार श्राद्धका चार विधि वर्णन गरिएको छ, ती पिण्डदान, हवन, तर्पण, ब्रह्मण भोजन हुन् ।

(लेखक रिजाल ज्योतिष तथा वास्तुविद् हुन् ।)


प्रकाशित : २०८० पुष २६, बिहीबार १३:२५