
काठमाडौं। नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीका कोषाध्यक्ष गगन भनिने रेवतराज पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले आइतबार फैसला गर्दै पुरीलाई मुद्दामा कसुरदार ठहर गरेको हो र सजाय निर्धारणका लागि अर्को इजलास बोलाइने विशेष अदालतले जनाएको छ।
विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पुरीलाई दोषी ठहर गरेको हो।पुरीविरूद्ध २०७७ माघमा १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगोसहित विशेष अदालतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पुरीले ३० बिगाहा सरकारी जग्गा किर्ते गरी आफ्नो नाममा पारेर विभिन्न व्यक्तिहरूलाई बेचबिखन गरेर सम्पत्ति बढाएको आरोप लागेको थियो। उक्त विषयमा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
विशेष अदालतमा पुरीसहित उनकी श्रीमती केशावती, दिदी मनमाया, नातेदार देवकुमार, कृष्णकुमार र संगीता पुरीविरुद्ध पनि मुद्दा दायर भएको थियो। विशेष अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा चलिरहेकै बेला उनी झापाको क्षेत्र नम्बर ५ को प्रदेश सभा (२) बाट उम्मेदवार बनेका थिए।
पुरीसँगै विभागले उनकी श्रीमती केशावती, दिदी मनमाया, नातेदार देवकुमार र संगीता पुरीविरूद्ध पनि मुद्दा दायर गरेको थियो।केशावतीविरूद्ध १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगो मागिएको छ। दिदी मनमायाविरूद्ध ९९ लाख ४ हजार रूपैयाँ बिगो मागिएको थियो।देवकुमार पुरीविरूद्ध ४६ लाख २४ हजार रुपैयाँको बिगो छ। सम्पत्ति जफत प्रयोजनका लागि संगीताविरूद्ध मुद्दा दायर भएको थियो।
विभागका अनुसार पुरीकी श्रीमती केशावतीको नाममा रहेको ११ हजार ८४६ वर्गमिटर जग्गा, दुई वटा घर, बा १५ च ७०७६ नम्बरको गाडी, देवकुमारको नाममा रहेको ३९१ वर्गमिटर जग्गा, उनको नामको घर, संगीता र कृष्णकुमार पुरीको नाममा रहेको बिर्तामोडको ३५९३।५२ वर्गमिटर जग्गा जफत गर्न माग गरिएको थियो।

