हथौसा लिटल स्टार स्कुलद्धारा अभिभावकलाई अभिमुखिकरण, आई.एस.ओ.प्रमाणित

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ओदारी स्थित हथौसा लिटल स्टार सेकण्डरी इङ्गलीस बोर्डिङ्ग स्कुलले अभिभावकहरुलाई अभिमुखीकरण प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत बाबुनानीमा अनुशासन, जिम्मेवारी र संस्कार सहितको रुपान्तरणका लागि उक्त अभिभावक अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सुन्दर पाण्डेले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।

अभिमुखिकरण कार्यक्रममा लाईफ कोच प्रितम पौडेलले प्रयोगात्मक सहित प्रशिक्षण प्रदान गर्नुभएको छ । उहाँले बालबालिकालाई कुनै पनि कार्यसंगै अध्यापनमा आकर्षण गर्ने तरिका, अभिभावकहरुको हौसलाले बालबालिकामा पर्ने मानसिक प्रभाव, परिवारका सदस्यको सम्बन्धका कारण पर्ने असर, अनुशासन तथा संस्कारको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले अभिभावक र शिक्षक, विद्यार्थी र शिक्षक, अभिभावक र विद्यार्थी बिच हुने असल सम्बन्धले विद्यार्थीहरुको सिकाई प्रभावकारी हुने स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बालबालिकाको शारिरीक, मानसिक तथा संवेगात्मक विकासका लागि अभिभावकहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । उहाँले यस्ता खालका अभिमुखिकरणले विद्यार्थीहरुको सिकाईमा अझ गुणस्तर ल्याउने बताउँदै कार्यक्रमको अन्तिम सम्म प्रशिक्षण लिन उहाँले अनुरोध गर्नुभयो ।

यसैबिच हथौसा लिटल स्टार सेकण्डरी इङ्गलीस बोर्डिङ्ग स्कुल मानकीकरणको लागि अन्तर्राष्ट्रिय संगठन (आई.एस.ओ.) प्रमाणित भएको छ । जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा परिचित हथौसा लिटल स्टार इङ्गलीस बोर्डिङ्ग स्कुलले अभिभावकहरुका लागि अभिमुखिकरण कार्यक्रमको अयोजना गरि विद्यालय आई.एस.ओ.प्रमाणित गर्न सफल भएको जानकारी दिइएको हो ।

विद्यालयका प्रिन्सिपल सुन्दर पाण्डेले आइ.एस.ओ सर्टिफाइट विद्यालय भैसकेपछि राष्ट्रिय र अन्तराष्ट्रिय प्रतिस्पर्धामा अर्को कोसे ढुंगा सावित भएको बताउनुभयो । यस प्रमाण पत्रकोत्यसको लागि विद्यालय परिवार, व्यवस्थापन समिति र समुदायले इमानदार भएर काम गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रिन्सिपल पाण्डेले विद्यालयले केहि समय अगाडिबाट यस सम्बन्धि कार्य गरिरहेको र मेहनतका कारण प्रमाणित हुन सफल भएको बताउनुभयो । उहाँले आई.एस.ओ.प्रमाणितका लागि अहोरात्र खट्ने व्यबस्थापन समिति, शिक्षक कर्मचारी, अभिभावक, विद्यार्थी लगायत सम्पुर्ण शुभेच्छुकलाई धन्यवाद व्यक्त गर्नुभयो ।

यो संगै अभिभावकहरु खुसी भएका छन् ।

विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष डिल्लीराज भुसालको अध्यक्षता, विद्यालयका प्रिन्सिपल सुन्दर पाण्डेको स्वागत तथा शिक्षक कृष्ण थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८० फाल्गुन २७, आईतवार १७:१५