लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाको १४ औं कार्यापालिका बैठक सम्पन्न भएको छ । उक्त बैठक नगरपालिकको आफ्नै सभाहलमा विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको हो । बैठकले नगरपालिकालाई पूर्णसंस्थागत प्रसुति पालिका घोषणा गर्ने निर्णय गरेको छ । यही चैत्र ८ गते (भोलि) मायादेवी रिसोर्ट वैरीयामा पालिकालाई पूर्ण संस्थागत प्रसुति पालिका घोषणा गर्ने तय भएको नगरप्रमुख चक्रपाणी अर्यालले जानकारी दिनुभयो ।
बाणगंगा नगरपालिका कपिलवस्तु जिल्लाकै पहिलो पूर्णसंस्थागत प्रसुति पालिका घोषणा हुन लागेको हो । पालिकामा घरमा प्रसुती गराउने संख्या शुन्यसहित पुर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह घोषणा प्रकृया २०८० अनुसार सबै मापदन्ड पुरा गरकोले बाणगंगालाई पुर्ण संस्थागत पालिका घोषणा गर्न लागिएको उहाँले बताउनुभयो । बैठकले नगरपालिकाको दोस्रो चौमासिक समिक्षा यही चैत्र २० गतेभित्र गर्ने निर्णय गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।
एकिकृत घुम्ती शिविर यस अघि बाणगंगा नगरपालिका वडा नं. १० मा भएकोमा अब बाणगंगा नगरपालिका ९ भलवाडमा यही चैत्र २५ गते भित्र गर्ने निर्णय भएको उनले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बैठकले बाणगंगा नगरपालिकाले आयोजना गर्ने दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम बाणगंगा नगरपालिका वडा नं.२ पिपरामा संचालन गर्ने निर्णय गरेको बताउनुभयो ।
त्यस्तै बैठकले बाणगंगा नगरपालिकाको बाणगंगा प्रज्ञा प्रतिष्ठानको संयोजकमा बालाराम ज्ञवालीलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । नगर प्रमुख चक्रपाणी अर्यालले प्रतिष्ठानलाई प्रभावकारी र दिर्घकालीन बनाउन उपयुक्त योजना निर्माण गर्न निर्देशन दिनुभयो ।
बैठकले प्रदेश समपूरक योजना छनोट गर्ने निर्णय समेत गरेको नगर उपप्रमुख रिता कुमारी चौधरीले जानकारी दिनुभयो । उहाँले आर्थिक बर्ष २०८१/०८२ का योजना निर्माणका लागी चैत्र मसान्तभित्रै आवश्यक छलफल गरि योजना छनोट गरेर अघि बढ्ने तयारी चलिरहेको बताउनुभयो ।