जगदिशपुरमा विश्व सिमसार तथा जैविक विविधता बिषयक अभिमुखीकरण प्रदान

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
जगदिशपुर जलाशय व्यबस्थापन बहुसरोकार मञ्चले विभिन्न सरोकोरवाला निकायका व्यक्तिहरुलाई विश्व सिमसार तथा जैविक विविधता बिषयक २ दिने अभिमुखीकरण प्रदान गरेको छ । बहुसरोकार मञ्चले १० वटा ताल संरक्षण समितिका पदाधिकारी तथा सदस्य, बहुसरोकार मञ्चका सदस्यहरु, कनकमुनि मावि जगदिशपुर, कुश्मा मावि कुश्मा, राष्ट्रिय मावि विकुली, तिलौराकोट मावि गोवरी र लुम्बिनी भिजन कलेज बाणगंगाका विद्यार्थीहरु तथा जगदिशपुर ताल नजिकका स्थानीयहरुलाई उक्त अभिमुखिकरण प्रदान गरेको मञ्चका अध्यक्ष ललित गुरुङले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।

अभिमुखीकरण कार्यक्रममा डिविजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदी, सव डिविजन वन कार्यालय चेतरादेईका रेन्जर दिलिप यादव र जगदिशपुर जलाशय व्यबस्थापन बहुसरोकार मञ्चका सदस्य नागेन्द्र प्रसाद यादव प्रशिक्षकको रुपमा रहनुभएको थियो । कार्यक्रममा विश्व सिमसार क्षेत्रमा सुचिकृत सम्पदाको संरक्षणको महत्व, संरक्षण गर्ने तरिका, संरक्षण नगर्दाका वेफाईदाहरु, यसको संरक्षणमा स्थानीयको भुमिकाका बारेमा प्रशिक्षण प्रदान गरिएको थियो । त्यस्तै जैविक विविधताको बारेमा समेत स्पष्ट पारिएको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु नगरपालिका वडा नं. १० का वडाध्यक्ष मोहनलाल शर्माले विश्व सीमसार क्षेत्रमा सुचिकृत जगदिशपुर तालले जिल्ला मात्र नभएर देशको पहिचान बनाएको बताउनुभयो । जगदिशपुर ताललाई संरक्षणका लागि बहुसरोकार मञ्चले प्रयास गरिरहेको बताउँदै आगामी दिनमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । तालको संरक्षणका लागि वडा कार्यालय सदैव साथमा रहेको बताउनुभयो । उहाँले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न अनुरोध गर्नुभयो ।

त्यस्तै कनकमुनि माविका प्रधानाध्यापक आफाक अहमद खाँले शुभकामना मन्तब्य दिंदै प्रकृतिले दिएको उपहारको सदुुपयोग गर्नुपर्ने बताउनुभयो ।

जगदिशपुर जलाशय व्यबस्थापन बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङ्ले १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको एसियाकै ठुलो मानव निर्मित जगदिशपुर ताललाई संरक्षण र प्रवद्र्धनका लागि मञ्च लागिरहेको बताउनुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका गुरुङ्ले तालमा अझै पनि न्युन रुपमा चोरी पैठारी भईरहेको भन्दै पुर्ण रुपमा रोक्न प्रयास गरिरहेको बताउनुभयो । उहाँले तालको संरक्षण गरि पर्यटन प्रवद्र्धन मार्फत यहाँका व्यवसायीहरुलाई आर्थक उपार्जनमा योगदान गर्ने बताउनुभयो । मानव हित, सभ्यता, पर्यटन प्रवद्र्धन, आर्थिक क्रियाकलापका लागि जगदिशपुर तालको सुन्दरीकरण र संरक्षण अपरिहार्य रहेको बताउनुभयो ।

यस्ता खालका तालिम र अभिमुखिकरणले जगदिशपुर तालको महत्व, पहिचान, सिमसार क्षेत्रको महत्व, जैविक विविधतामा सन्तुलन ल्याउनका लागि आवश्यक जानकारी हुने भएकाले तालिम प्रभावकारी भएको जगदिशपुर जलाशय व्यबस्थापन बहुसरोकार मञ्चका सचिव सुन्दर पाण्डेले बताउनुभयो ।

कार्यक्रम मञ्चका सदस्य नागेन्द्र प्रसाद यादवको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०८० चैत्र १८, आईतवार १९:०४