
लुदस, प्युठान
झिमरुक गाउँपालिकाको गोब्दी खोला पुल सम्झौता तोकिएको मितिभन्दा चार महिना अघि सम्पन्न भयो । आँसु÷जानकी÷बजरंगी जे.भी.ले पुल निर्माण गर्न २०८० असार १७ गते सम्झौता गरी काम अघि बढाएको थियो । २० मिटर लम्बाई र १० मिटर चौडाइ रहेको पुल निर्माण सम्पन्न गर्न २०८१ असार १७ गतेसम्म रहेको थियो । तर कम्पनीले ४ महिना अघि नै पुल निर्माण सम्पन्न गरेको हो ।
सडक पूर्वाधार विकास कार्यालयमार्फत उक्त पुल निर्माण भएको हो । ४ करोड ७९ लाख १५ हजार ९४३ रुपियाँमा ठेक्का सम्झौता भएको कार्यालय प्रमुख चन्द्र बहादुर शाहले बताउनुभयो । कार्यालयमा बजेट नहुँदा भुक्तानी दिन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । तोकिएको मितिभन्दा पहिले निर्माण कार्य सक्ने कम्पनीलाई कार्यालयले सम्मान गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।
निर्माण व्यवसायी महासङ्घका केन्द्रीय सदस्य समेत रहनुभएका श्रेष्ठको कम्पनीले गोब्दीको पक्की पुल मात्र होइन भवन र सिँचाइ कुलो समेत तोकिएको समयभन्दा पहिले सम्पन्न गरेको उदाहरण छन् । मल्लरानी गाउँपालिकाको रस्पुरकोटमा एक वर्ष पहिले नै विकासे सिँचाइ कुलो निर्माण सम्पन्न भएको थियो ।
झिमरुक गाउँपालिकाको तुषारामा डेढ वर्ष पहिले काउले सिँचाइ कुलो निर्माण गरेको व्यवसायी श्रेष्ठले बताउनुभयो ।

