बाणगंगाको पिपरा अस्पतालमा अब निःशुल्क पोस्टमार्टम हुने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, बाणगंगा

कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मा रहेको पिपरा अस्पतालले निःशुल्क पोस्टमार्टम सेवा सुरु गरेको छ । सोमबार बाणगंगा नगरपालिका− ९ का एक जना पुरुषको शव पोस्टमार्टम गरिएसंगै सेवा सुरु भएको अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताए । पहिलो केशका रुपमा रहेको उक्त शवको अस्पतालका चिकित्सकहरु डा.गणेश क्षेत्री, डा. सुदिप पौडेल लगायतको टिमले पोष्ट मार्टम गरेको हो ।

डाक्टर क्षेत्रीले लामो समयको निरन्तर प्रयासपछि यो सेवा सुरु गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले यस अस्पताललाई प्रदेशकै नमुना अस्पतालको रुपमा स्थापित गर्ने गरि आफुहरु लागेको सुनाए । उनले आगामी योजना सुनाउँदै पिपरा अस्पतालमा अप्रेशन कक्षको स्थापना तथा संचालन, थाइराइड मेसिन खरिद गरि सेवा स्थापना, फार्मेसीसंगै चौबीसै घण्टा ल्याब र एक्स रे सेवा, दन्त रोग विभाग तथा फिजियोथेरापी सेवा स्थापना तथा संचालन, अस्पतालबाटै विशेषज्ञ सेवा प्रदान गर्ने तयारीका साथ रातदिन खटिरहेको बताए । डाक्टर क्षेत्रीका अनुसार अस्पतालमा दैनिक औसत ३ सय विरामीहरु सेवाका लागी आउने गरेका छन् ।

बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले पिपरा अस्पतालमै पोस्टमार्टम सेवा सुचारु हुनु सबै जिल्लावासीकै लागी सुखद विषय भएको बताईन् । यस सेवाको बाणगंगावासीसंगै जिल्लाका अन्य पालिकाकावासीले समेत सेवा लिन सक्ने उनले बताईन् । आफुहरुको निरन्तरको प्रयासले आज मूर्त रुप लिएको भन्दै उनले खुशी व्यक्त गरिन् । पिपरा अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रुपमा स्थापित गर्न नगरपालिका हरेक तवरले लागी परेको उनले बताईन् । पछिल्लो समय पिपरा अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएको कुराले पनि यस अस्पतालले आमनागरिकको विश्वास जित्दै गएको प्रस्ट हुने उनको भनाई छ ।

उनले यस अस्पतालमा अन्य आवश्यक सेवा सुविधा थप्न नगरपालिका निरन्तर प्रयारत बताईन् । उक्त पोस्टमार्टम सेवा सुचारुको अनुगमनमा नगर उपप्रमुख चौधरीसंगै प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, नगर प्रवक्ता तथा वडा नं.२ का अध्यक्ष विष्णु प्रसाद पौडेल, अस्पतालका प्रशासन शाखा प्रमुख नरेन्द्र प्रसाद पोख्रेल, नगरपालिकाका कृषि शाखा प्रमुख लेस बहादुर केसी, राजस्व शाखा प्रमुख मदन प्रसाद घिमिरे लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८१ श्रावण २१, सोमबार १९:११