आधारभुत स्वास्थ्य परियोजना : स्वयं हेरचाह समुहलाई अभिमुखिकरण तथा आँखा जाँच

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
कालिका स्वालम्बन सामाजिक केन्द्र कपिलवस्तु र फेयरमेडद्धारा संचालित आधारभुत स्वास्थ्य परियोजना अन्तर्गत स्वयं हेरचाह समुहका लागि स्वास्थ्य सेवा तथा सुविधावारे अभिमुखिकरण तथा आखाँ जाँच कार्यक्रम सम्पन्न गरिएको छ । मोतिपुर स्वास्थ्य चौकी चप्परगाउँमा आयोजित कार्यक्रममा उष्णप्रदेशिय रोगबाट प्रभावित व्यक्तिहरु तथा स्वयं हेरचाह समुहका सदस्यहरु शसक्तिकरणका लागि उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सोहि परियोजनाका सुशासन तथा समावेशी अधिकृत प्रज्वल धितालले अभिमुखिकरण गर्नुभएको थियो । धितालले स्वयं हेरचाहको महत्व र यसको नियमित हेरचाह, स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रदान गरिने आधारभुत सेवा, समुदायस्तरमा हुने स्वास्थ्य क्रियाकलापहरुमा उनीहरुको सहभागिता संलग्ना बढाउने, निशुल्क औषधीको बारेमा तथा आठ प्रकारका जटिल रोगहरुको सहुलियत सम्बन्धि तिनै प्रकारका सरकारले दिने सुविधाबारे स्पष्ट पार्नुभएको थियो ।

त्यस्तै उहाँले प्रदेश सरकारले दिने सेवा सुविधा, सिकलसेल एनिमिया निशुल्क जाँच, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा, परिवार नियोजन सेवा, अपांगता भएका व्यक्तिले पाउने सेवा सुविधा, आईरन र फोलिक एसिडको महत्व र जन्मजात हुने अपांगता रोकथामबारे समुहका सदस्यहरुलाई जानकारी गराउनुभएको थियो ।

त्यस्तै मोतिपुर स्वास्थ्य चौकीका प्रमुख हिमलाल घिमिरेले पनि अभिमुखिकरण गर्दै स्वास्थ्य चौकिबाट प्रदान गरिने आधारभुत स्वास्थ्य सेवाबारे स्पष्ट पार्नुभएको थियो । उहाँले स्वास्थ्य बीमा, यसका फाईदा र आवश्यक स्वास्थ्य सुविधा प्राप्त गर्न अनुरोध गर्नुभयो । साथै कार्यक्रममा सिद्धार्थ नेत्रालयका प्राविधिक सुधन वाग्लेले १८ जनाको आँखा जाँच तथा परामर्श गर्नुभएको थियो । जसमध्ये ३ जनामा मोतिया बिन्दु, ५ जनालाई चस्माको आवश्यकता तथा २ जनाको आँखामा मासु पलाएको पाईएको छ ।

सन २०१९ मा कुष्टरोग तथा हात्तिपाईलेबाट प्रभावित एवमं अपांगता भएका व्यक्तिहरु सहभागी भई स्थापना भएको मोतिपुर स्वयं हेरचाह कृषक समुहले समुहमा आवद्ध भएपछि विभिन्न आयआर्जन मुलक कार्यमा सहभागी भई जिविकोपार्जन गरेका छन् । सामाजिक बहिस्कार र तिरस्कारको डरका कारण उपचारका लागि अस्पताल जान समेत नसक्ने सदस्यहरु समुहमा आवद्ध भएसंगै कृषि र पशुपालन मार्फत आत्मनिर्भर हुंदै आएको कालिका स्वालम्बन सामाजिक केन्द्रका सुपरभाईजर एमुना पन्थीले बताउनुभयो ।

यता कपिलवस्तु जिल्ला परियोजना संयोजक निशान कुवंरले परियोजना मार्फत कुष्टरोग तथा हात्तिपाईलेबाट प्रभावित, अपांगता भएका व्यक्ति र अति विपन्न व्यक्तिहरुको सामाजिक र आर्थिक विकासका लागि विभिन्न कार्यहरु भईरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो । स्वयं हेरचाह समुहका अध्यक्ष पबित्रा कुंवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समुहका सदस्यहरु, स्वास्थ्य चौकीका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८१ भाद्र १२, बुधबार १९:०२