
हरि आचार्य, कपिलवस्तु
हाम्रो दिगो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औं स्थापना दिवस सामाजिक तथा मानवीय कार्य गरि मनाएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ पिपरा स्थित हाम्रो दिगो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बृहत रक्तदान कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको हो । पछिल्लो समय रगतको अभाव भईरहेको समयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको र उक्त कार्यक्रममा ५५ प्वाईन्ट रगत संकलन भएको सहकारीका अध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा वडाका वडा स्तरिय युवा क्लव, दर्पण युवा क्लव, न्यु भिजन क्लव, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले रक्तदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडलले रक्तदान जीवनदान भएकाले सम्पुर्णलाई रक्तदान गर्न अनुरोध गर्नुभयो । नगरपालिकाका प्रवक्ता समेत रहनुभएका पौडेलले रगत दान गरेर स्वास्थ्यमा कुनै असर नपर्ने र यस सम्बन्धि नकारात्मक सोंच त्याग्न आग्रह गर्दै स्थापना दिवसको अवसरमा मानवीय कार्य गरेकोमा सहकारीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
रक्तदान कार्यक्रममा निकै उत्साहपुर्ण रुपले रक्तदाताले रक्तदान गरेको कार्यक्रमका संयोजक तथा सहकारीका कोषाध्यक्ष श्री कृष्ण प्रसाद गैरेले बताउनुभयो । साथै ५५ जना रक्तदाता मध्ये सबै भन्दा धेरै उमेरको रक्तदाता गैरे हुनुहुन्छ ।
सहकारीका अध्यक्ष सुरेन्द्र पाण्डेले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका पाण्डेले मानव जिवनका लागि रगत महत्वपुर्ण भएकोले रक्तदान गर्नाले कसैको जीवन बच्ने भएको हुंदा यो कार्य निकै महत्वपुर्ण र मानवीय कार्य रहेको बताउनुभयो । उहाँले सहकारीको स्थापना दिवसको अवसरमा मानवीय र सामाजिक कार्य गर्दै आईरहेको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा रन बहादुर क्षेत्रीले रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो भने चोंगाली थारुले रक्तदान गरेसंगै समापन गरिएको थियो । रक्तदातालाहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा सहकारीका सल्लाहकार संयोजक शिव कुमार कार्कीको विशिष्ठ आतिथ्यता रहेको थियो भने कार्यसमिति सदस्यहरु रत्न बहादुर कार्की, रमेश कार्की, खुमकला घिमिरे, ममता राना मगर, सहकारीका व्यवस्थापक सरस्वती ढकाल, कर्मचारी गीता न्यौपाने, चन्द्रमति भण्डारी लगायतले सहजीकरण गर्नुभएको थियो । औपचारीक कार्यक्रम सहकारीका सचिव यादव मरासिनीको सञ्चालनमा सम्पन्न भएको हो ।

