प्राकृतिक विपत्तिले १० वर्षमा ३५ लाख नेपाली विस्थापित

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, काठमाडौं
नेपालमा प्राकृतिक विपत्तिका कारण पछिल्लो १० वर्षमा ३५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

आन्तरिक विस्थापन अनुगमन केन्द्र (आईडीएमसी) को तथ्यांक अनुसार सन् २०१४ देखि २०२३ सम्म ३५ लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका हुन् । यो तथ्यांकमा हालैको बाढी–पहिरोका कारण विस्थापितको संख्या समावेश छैन ।

त्यसमध्ये सबैभन्दा धेरै मानिस २०७२ साल (सन् २०१५) को भूकम्पका कारण विस्थापित भएको देखिएको छ । त्यस वर्षको भूकम्पका कारण २६ लाख मानिस विस्थापित भएको केन्द्रको तथ्यांकमा छ । त्यसबाहेक अन्य भूकम्पका कारण थप १ लाख मानिस विस्थापित भएका छन् ।

भूकम्पपछि नेपालमा विस्थापनको कारण बाढी देखिएको छ । बाढीका कारण गत १० वर्षमा ७ लाख १९ हजार मानिस विस्थापित भएको तथ्यांक छ ।

त्यस्तै, पहिरो तथा हिमपहिरो (वेट मास मुभमेन्ट) लगायत कारण ५० हजार, आँधीबेहरीका कारण २४ हजार र डढेलोका कारण १ हजार ४ सय मानिस आन्तरिक रूपमा विस्थापित भएको तथ्यांक पनि आईडीएमसीले संकलन गरेको छ ।

सन् २०१५ पछि सबैभन्दा बढी विस्थापन २०१७ मा भएको थिया । त्यस वर्ष ३ लाख ८४ हजार मानिस विस्थापित भएका थिए ।

गत वर्ष २०२३ मा मात्रै प्राकृतिक विपदका कारण १ लाख १० हजार मानिस विस्थापित भएका थिए । त्यसमध्ये १ लाख ७ हजार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६।४ म्याग्निच्युडको भूकम्पका कारण विस्थापित भएका थिए ।

द्वन्द्वले भन्दा प्रकोपबाट विस्थापित धेरै

एसियाली विकास बैंक (एडीबी) र आईडीएमसीको एउटा प्रतिवेदनले संसारमा द्वन्द्वले भन्दा प्राकृतिक विपत्तिका कारण विस्थापित हुने मानिसको संख्या धेरै रहेको देखाएको छ ।

सन् २०२३ मा द्वन्द्व तथा हिंसाका कारण २ करोड ५ लाख मानिस विस्थापित भएको तर प्राकृतिक प्रकोपका कारण २ करोड ६४ लाख मानिस आफ्नो घरबास छाड्न बाध्य हुनुपरेको प्रतिवेदनले देखाएको छ ।

‘एसिया प्रशान्त क्षेत्रमा विपद् तथा जलवायु परिवर्तनका सन्दर्भमा विस्थापनको समस्या समाधानका लागि वित्तपोषण’ शीर्षकको उक्त प्रतिवेदनले प्राकृतिक विपदका कारण गएको १० वर्षमा एसिया प्रशान्त क्षेत्रमा १७ करोड ७० लाख मानिस विस्थापित भएको देखाएको हो ।

विश्वमा प्राकृतिक प्रकोपबाट विस्थापित हुनेमध्ये ७४ प्रतिशत एसिया प्रशान्त क्षेत्रमा रहेको र त्यसमध्ये पनि विकासशील देशमा विस्थापित संख्या ९५ प्रतिशत अर्थात् १६ करोड ८० लाख रहेको प्रतिवेदनमा छ ।

एसियाका गरिब देशमा प्राकृतिक प्रकोपको संख्या अझै बढ्दै जाने पनि प्रतिवेदनमा उल्लेख छ ।

विगत १० वर्षमा एसिया क्षेत्रमा विस्थापितमध्ये २८ प्रतिशत अर्थात् ४ करोड ९७ लाख दक्षिण एसियाली देशका रहेको पनि प्रतिवेदनमा छ । नेपाल, भारत, बंगलादेश, श्रीलंका लगायतमा बाढी–पहिरो, आँधी तथा भूकम्पका कारण धेरै मानिस विस्थापित हुनुपरेको छ । यिनमा पनि नेपाल र भुटानमा हिउँ पग्लेका कारण आउने बाढी तथा हिमपहिरोको जोखिम बढ्दै गएको देखिन्छ ।

दक्षिण एसियामा भएको कुल विस्थापनमध्ये ५।६ प्रतिशत भूकम्पका कारण भएको र त्यसमा २०१५ मा नेपालमा आएको गोरखा भूकम्पको हिस्सा ठूलो रहेको प्रतिवेदनले उल्लेख गरेको छ । तर, यस क्षेत्रमा सबैभन्दा बढी मानिस बाढी–पहिरोका कारण विस्थापित हुने गरेका छन् ।


प्रकाशित : २०८१ कार्तिक २, शुक्रबार ०६:२८