अर्घाखाँची शितगंगा ६ को सानाढुंग्रेमा सामान्य विवादमै मामाले गरे भान्जाको विभत्स हत्या

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु
अर्घाखाँचीको शितगंगा नगरपालिका ६, सानाढुंगे्रमा सामान्य विवाद हुँदा मामाले भान्जाको विभत्स हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घटना मँगलबार रातीको हो ।

स्थानीय ५३ वर्षीय झन्द्र बहादुर गाहाले सोही ठाउँका भान्जा पर्ने ३५ वर्षीय तिलक रेश्मीको हत्या गरेका हुन् । गएको मंगलबार साँझ ५ बजे भने झन्द्र एक्लैले मदिरा सेवन गरेर भान्जा तिलकलाई अनावश्यक गाली गरेपछि भन्जा कारण बुझ्न मामाको घरमा पुगेका थिए । तिलकले आफ्नी श्रीमतिलाई मामाकोमा जान्छु भनेर हिँडे पनि भोलि विहानसम्म नआएपछि खोजी गर्दै जाँदा मामाको घर नजिकै मृत अवस्थामा फेला परेको थियो । घटना लगत्तै प्रहरीलाई खबर गरेपछि भएको अनुसन्धानमा मामा झन्द्रबहादुरले हत्या गरेको स्वीकार गरेका छन् ।

उनले सुरुमा भान्जा तिलकको टाउकामा ढुंग्रा प्रहार गरेको र बेहोस भएपछि घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन् । आफ्नै घरमा आएका भान्जालाई हत्या गरेपछि २ सय मिटर पर घिसारेर लगि फालेको उनले प्रहरी समक्ष बयान दिएका छन् ।

यसरी थियो घटनाको रहस्य
मामा झन्द्र र भान्जा तिलक दुबै जनाले मदिरा पिएर अन्य समयमा समेत सामान्य झगडा गर्ने गर्दथे । तर, उनीहरु बीच बोली बाराबारनै हुने तथा ठूलो झगडा भने कहिले पनि भएको थिएन । मँगलबारको साँझ भने भान्जा तिलकले मदिरा पिएका थिएनन्, उनी घरमै थिए, मामा झन्द्र भने मदिराले मातेर भान्जाको घरमा आएर उनलाई विभिन्न गाली गर्दै त्यहाँबाट निस्किए । मामाको गाली सुनेपछि आफ्नो कौतूहलता मेट्न तिलक मामा झन्द्रको घरमै गएर भेट्ने निणर्यमा पुगे । झन्द्रले गाली गरेको आधा घण्टापछि तिलक उनको घर पुगे ।

मामा घर जान्छु भनेर हिँडेको श्रीमान रातीसम्म पनि नफर्केपछि तिलककी श्रीमतिलाई लाग्यो मामा घरमै बसे होलान् । त्यसैले उनी राति श्रीमानको चिन्ता नलिई सुतिन् । तिलक बुधबार बिहान हुँदा समेत घर फर्किएपछि भने उनी श्रीमानको खोजीमा लागिन् । मामाससुरा झन्द्रको घर पुगेर उनले सोधिन्, ‘‘तिलक कहाँ गयो मामा रु हिजो यतै जाने भनेर आएको हो, घर फर्किएन ।’’ झन्द्रले जवाफ फर्काए, ‘‘हो, हिजो आएका थिए । साँझ नै फर्किएका हुन् । यता बस्नु भएन ।’’

त्यसपछि उनी मामा झन्द्रको घरबाट फर्कन लाग्दा त्यहीँ आँगनमा ढुंगामा रगत लत्पतिएको देखिन् । तर, श्रीमानको होला भन्ने शंका गरिनन् । उनी तिलक साथीको घर पो गए कि भनेर मनोजबहादुर गाहाको घर जाने बाटोतर्फ लागिन् । बाटोमा समेत रगतका टाटाहरू देखिन् । श्रीमान्को खोजीका निम्ति हिँडेकी उनी बाटोभरि रगत देखिपछि चिन्तित बनिसकेकी थिइन् ।

रगतको टाटा देखिएको बाटो हुँदै हिँड्दा मनोजको घरनजिकैको अर्यान भीरपाखोमा तिलक ढलेको अवस्थामा देखिन् । दौडँदै उनी तिलक भएको ठाउँतिर पुगिन् । तिलकको शरीर छामिन् । सास फेरेको चाल पाइनन् । शरीर चिसो भइसकेको थियो ।

शरीरका विभिन्न भागबाट रगत बगेको थियो । त्यसपछि उनले प्रहरीलाई खबर गरिन् । प्रहरी टोलीले हत्याको आशंका गर्‍यो । अनुसन्धान गर्दै जाँदा मामा झन्द्रले नै हत्या गरेको स्वीकार गरे । विवाद के विषयमा थियो र अन्य थप के–के घटना भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।


प्रकाशित : २०८१ कार्तिक ३०, शुक्रबार ०६:५०