लुदस, कपिलवस्तु
वाणगंगा नगरपालिका–९ स्थित ऐतिहासिक, धार्मिक, तथा पर्यटकीय स्थल कपिल आरोग्य मन्दिर (कपिलधाम) को १३ औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद एवं पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले कपिलधामलाई राष्ट्रिय गहनाको रूपमा व्याख्या गर्दै यसको विकासका लागि सामुदायिक बन र राज्यको सक्रिय सहयोग आवश्यक रहेको बताए । उनले धामको विकासमा आफ्नो तर्फबाट पनि आवश्यक सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
विशिष्ट अतिथि एवं पूर्व अर्थ राज्य मन्त्री तथा भारतका लागि नेपालका पूर्व राजदूत दिप कुमार उपाध्यायले कपिलधामलाई ऋषि–महर्षिहरूले तपस्या गरेको पुण्यभूमि भन्दै यसको संरक्षण र प्रबर्द्धनका लागि गुरुयोजनासहित राज्यसँग माग गर्नुपर्ने धारणा राखे ।
साधारणसभामा वडा नं. ९ का वडा अध्यक्ष कमल पौडेल, वडा नं. ७ का अध्यक्ष विष्णु गिरि, वडा नं. ५ का अध्यक्ष दुनिका भुसाल, गोरुसिंघे सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विवेक कुमार घिमिरे, सल्लाहकार मोहन ज्ञवाली, र बौद्धिक व्यक्तित्व सूर्य भुसाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
साधारणसभामा स्व. हिमलाल ज्ञवालीलाई मरणोपरान्त ‘कपिलमुनी शान्ति पुरस्कार’ प्रदान गरियो। उक्त पुरस्कार सल्लाहकार मोहन ज्ञवालीले हिमलाल ज्ञवालीका छोरा बिक्रम ज्ञवालीलाई प्रदान गरे ।
संस्थाका सचिव ध्रुव बेल्बासेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष राजु अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०÷८१ मा संस्थाको कुल आय–व्यय ३१ लाख ६६ हजार रुपैयाँ रहेको जानकारी दिए । लेखा संयोजक कमल बेल्बासेले लेखा प्रतिवेदन सुझावसहित प्रस्तुत गरे ।
साधारणसभामा ३११ जना आजीवन सदस्यहरूलाई सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष शंकरप्रसाद आचार्यले कपिलधामको भविष्यका योजनाबारे जानकारी गराउँदै धार्मिक, सांस्कृतिक, र पर्यटकीय दृष्टिकोणबाट धामको महत्व उजागर गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम अध्यक्ष शंकरप्रसाद आचार्यको अध्यक्षता र पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उपाध्यक्ष थानेश्वर बेल्बासेले स्वागत मन्तव्य राखेका थिए भने सहसचिव दुर्गाप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
कपिलधामको विकास र प्रबर्द्धनका लागि यो साधारणसभा कोसेढुंगा सावित हुने विश्वास गरिएको छ ।




















