लुम्बिनीमा मानसिक स्वास्थ्य समस्या जटिल, ४ प्रतिशत महिला र २ प्रतिशत पुरुषमा ‘डिप्रेसन’

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु

लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ । पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । यस्तै १८ वर्षमाथिका १३ प्रतिशत व्यक्ति आफ्नो जीवनकालमा मानसिक स्वास्थ्य समस्याबाट पीडित भएका र पाँच दशमलव चार प्रतिशतमा मानसिक स्वास्थ्य समस्या झेलिरहेका छन् ।

नेपाल जनसाङ्खिक स्वास्थ्य सर्वेक्षण–२०२२ को तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशका २० प्रतिशत महिला र ११ प्रतिशत पुरुषमा चिन्ताजन्य समस्या तथा चार प्रतिशत महिला र दुई प्रतिशत पुरुषमा ‘डिप्रेसन’ को समस्या रहेको छ । सोही सर्वेक्षणअनुसार नेपालमा १५ देखि ४९ वर्षका २२ प्रतिशत महिला र ११ प्रतिशत पुरुषमा चिन्ताजन्य समस्याका लक्षणहरू तथा पाँच प्रतिशत महिला र दुई प्रतिशत पुरुषमा डिप्रेसनका लक्षणहरू देखिएको छ ।

स्वास्थ्य मन्त्रालयको आयोजना र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालको प्राविधिक सहयोगमा प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना निर्माणका क्रममा आज प्रदेश राजधानी दाङ–देउखुरीमा आयोजित सो मस्यौदामाथिको छलफल कार्यक्रममा मानसिक स्वास्थ्यको समस्या विकराल बन्दै गइरहेकाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवालाई जनस्तरमा पुर्याउन नीतिगत सुधार गरी अघि बढ्न सुझाव दिइएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले तयार पारेको मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना मस्यौदामाथिको छलफलमा गुणस्तरीय मानसिक स्वास्थ्य सेवामा सहज र समान पहुँच बढाउन, मानसिक स्वास्थ्य सेवामा बहुक्षेत्रीय सहभागिता, सहकार्य र साझेदारी बढाउन, स्वास्थ्य सेवा प्रणालीअन्तर्गत एकीकृत मानसिक स्वास्थ्य सेवा पुर्याउन भनी रणनीतिक कार्ययोजना निर्माण गर्न थालिएको जनाइएको छ ।


प्रकाशित : २०८१ मंसिर ५, बुधबार ०६:०९