लुदस, कपिलवस्तु
कपिलवस्तुको बूद्धभूमि नगरपालिका २ गोरुसिंगेमा चौथो बुद्धभूमि कृषि ब्यापारिक, सांस्कृतिक पर्यटन तथा औधोगिक महोत्सव सुरुभएको छ । बिहिबार कार्यक्रमका बीच महोत्सव उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा विभिन्न समुदाय तथा जातजातीले आफ्नो भेषभूषासहित नृत्य प्रस्तुत गरेका थिए । यस्तै विभिन्न विद्यालयले मार्च गरेका थिए भने बसन्तपुर आमा समुहले पञ्चेबाजा सहित गोरुसिंगे देखि महोत्सव स्थल परिक्रमा गरेका थिए ।
कार्यक्रममा विभिन्न झाकी, मयुरनाच उसूको डेमो देखाइएको थियो भने विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । भजन मण्डलीको समेतको प्रस्तुती रहेको कार्यक्रममा विभिन्न जातजातीको प्रस्तुतीले कार्यक्रम रोचक बनेको थियो । मंसिर ६ गतेबाट संचालन भएको महोत्सव १७ गतेसम्म चल्नेछ ।
महोत्सवको उद्घाटन गर्दै पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले सुपा देउराली मन्दिरसम्म केवलकार जोड्न सके धेरै पर्यटक भित्राउन सकिने बताउनुभयो । नेपाली कांग्रेसका प्रदेश महामन्त्री समेत रहनुभएका आचार्यले यहाँका कृषि उत्पादन, हस्तकला बाट निर्माण गरेका बस्तुहरु साथै किसानले उत्पादन गरेका अर्गानिक तरकारी सहजै विक्रि गर्न सकिने यसबाट आम नागरिकको आयआर्जनको जोहो गर्न सकिने जनाउनुभयो ।
जिल्लामा संचालन हुने यस्ता महोत्सवले नाचगान मात्र नभई यहाका कला संस्कृति, स्थानीय उत्पादनहरु प्रर्दशन गर्न सकेमा मेलाको औचित्य रहने बताउनुभयो । साथै उहाले महोत्सवहरु नयाँ सोचका साथ अगाडी बढ्नुपर्ने बताउनुभयो । महोत्सको उद्घाटन विभिन्न जातजातीको नाच, पञ्चेबाजा, झाकीसहित गरिएको थियो । महोत्सवमा १५० वटा स्टल रहेका छन् । मंसिर ६ गतेबाट संचालन भएको महोत्सव १७ गतेसम्म चल्नेछ ।