हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा २ नन्दनगर स्थित कैलाश आश्रम परिसरमा हुने श्री वराहपुराण पाठ पारायण तथा श्रीमद् भागवत महापुराण धन धान्याञ्चल ज्ञान–महायज्ञ २०८१ को सम्पुर्ण तयारी पुरा भएको छ । भोलि अर्थात यहि मंसिर ८ गते देखि १६ गते सम्म हुने महायज्ञको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत आयोजक श्री मनकामना संस्कृत गुरुकुल प्रवर्धन समाजले जनाएको छ । भोलि दिउँसो १ बजे नेपाल सरकारका संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेले समुद्घाटन गर्ने कार्यतालिका तय भएको र त्यस अगाडि विहान ९ बजे बैरिया सिमलपानी चोक देखि विभिन्न झांकीहरु सहित शोभाकलश यात्रा सुरु हुने महायज्ञ सम्पादन मुल समितिले जानकारी दिएको छ ।
उक्त महायज्ञ सफल बनाउन विभिन्न राजनितक दल, शैक्षिक संस्था, युवा क्लव लगाएत संघ संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएको र जिल्ला तथा जिल्ला बाहिरका विभिन्न पालिकाहरुले महायज्ञ सफल बनाउन आँफुहरुको भरपुर सहयोग गर्ने बताएको महायज्ञ सम्पादन मुल समितिका संयोज तथा प्रवर्धन समाजका अध्यक्ष रबिराज शर्मा ज्ञवालीले बताउनुभयो । उहाँले यस महायज्ञमा करिव ४० लाखको आर्थिक तथा अन्नदान संकलन हुने अपेक्षा गरिएको बताउनुभयो ।
यस क्षेत्रमै पहिलो पटक प्रत्येक दिन संगितमय श्रृंगारिक महाआरती हुने यस महायज्ञको प्रमुख विशेषता रहेको छ । बैदिक सत्य सनातन धर्मको रक्षार्थ राष्ट्र शान्ति र विश्व शान्तीको कामना सहित श्री मनकामना संस्कृत विद्यापिठ गुरुकुलमको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले ३० औं अनुष्ठानको रुपमा श्रृंगिऋषिको तपोभुमी भागिरथी नदिको तटमा अवस्थित कैलाश आश्रम परिसरमा ज्ञान महायज्ञ हुदै धनधान्याञ्चल ज्ञान–महायज्ञको आयोजना गरिएको महायज्ञका प्रचार प्रसार उप समिति संयोजक तथा समाजका उपाध्यक्ष जगतराज रेग्मीले बताउनुभयो ।
अहिले गुरुकुलमा १ सय २५ जना बटुकहरुले अध्ययन गरिरहेका छन् । पत्रकार सम्मेलनमा प्रवर्धन समाजका सचिव कमल पौडेल, व्यवस्थापक मोहन प्रसाद पन्थी, प्राचार्य लगायतले गुरुकुलमको परिचय सहित महायज्ञ संचालनको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य कृष्ण पौडेल लगायत बाणगंगाका क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।