
हरि आचार्य, कपिलवस्तु
अपांग उत्थान समाज कपिलवस्तुको रजत महोत्सव तथा स्मारिका विमोचन समारोह भव्य रुपमा सम्पन्न गरिएको छ । बाणगंगा ४ ठाकुरापुरमा कार्यक्रमको आयोजना गरि समाजको रजत महोत्सव मनाउनुका साथै स्मारिका विमोचन समेत गरिएको हो । यस अघि २ दिन विभिन्न कार्यक्रमहरु समेत आयोजना गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीले देश पूर्ण रुपमा अपांगतामैत्री हुदै गएको बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद पन्थीले अपांगता भएका व्यक्तिहरूको हक, हित सुनिश्चित गर्न उनीहरूको जीवनस्तर सुधार्न तिनै तहका सरकारको साझा प्रयास आवश्यक रहेको बताउनुभयो । पन्थीले अपांगता भएका व्यक्तिहरूको अधिकारका लागि स्वास्थ्य सेवा, शिक्षा, रोजगार र पहुँचमा सुधार ल्याउने नीति र कार्यक्रमहरू बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अपांगता भएका व्यक्तिहरुको हक हित र संरक्षणका लागी विभिन्न संघ संस्थाहरुले समन्वय गर्न आवश्यक रहेको बताउनुभयो ।
बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले अपांगता भएका व्यक्तिहरूलाई शिक्षा र स्वास्थ्य सेवामा समान अवसर प्रदान गर्ने बताउदै रोजगारीका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो । प्रमुख अर्यालले अपांगता भएका व्यक्तिहरूलाई स्थानीय सरकारले बजेट समेत विनियोजन गरेको बताउनुभयो । उहाँले उनीहरुको हक हितका पक्षमा नगर सदैव तयार रहने प्रतिवद्धता जनाउदै अपांगता भएका व्यक्तिहरुलाई समाजमा कुनै प्रकारको भेदभाव गर्न नहुने बताउनुभयो ।
बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले अपांगता भएका व्यक्तिहरूको हक र अधिकारका लागि निरन्तर पहल गर्दै आएको बताउदै संस्थाको भवन निर्माणमा सहयोग गर्दै आएका बताउनुभयो । उहाँले जो कोही जुन समयमा पनि अपांगता हुन सक्ने भन्दै सबै संग सहकार्य गरी अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय अपांग महासंघ नेपालका निर्वातमान अध्यक्ष तथा अपांग उत्थान समाज कपिलवस्तुका संस्थापक अध्यक्ष मित्रलाल शर्माले अपांगता भएका व्यक्तिहरुको हक अधिकार स्थापनाका लागि राज्यको नीति आवश्यक रहेको बताउनुभयो । उहाँले अपांग उत्थान समाजलाई सबैले सहयोग तथा सहकार्य गरेकोमा धन्यवाद प्रकट गर्नुभयो । अपांग उत्थान समाज कपिलवस्तुका परिकल्पनाकार समेत रहनुभएका शर्माले स्थापनाकाल देखि अहिले सम्म गरेका कामहरुको बारेमा जानकारी गराउँदै अपांगता भएका नागरिकहरुलाई रोजगार स्वरोजगारमा जोडि आत्मनिर्भर बनाउन आफुले कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अपांग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल प्रसाद ढुङ्गनाले संस्था कुनै पनि राजनैतिक दल संग आवद्ध नभएको स्पष्ट पार्दै संस्थालाइ अघि बढाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारी, पर्शुराम ज्ञवाली, मावि स्तरिय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी नाइसा अधिकारी लगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो ।
यसैविच उक्त कार्यक्रममा संस्थामा स्थापनाकालदेखी महत्वपूर्ण योगदान दिदैं आएका व्यक्ति तथा रजत महोत्सवको अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद तथा वक्तृत्वकला प्रतियोगितामा विजेता भएकाहरुलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष कमल प्रसाद ढुङ्गनाको अध्यक्षता, उपाध्यक्ष नन्द किशोर यादवको स्वागत मन्तव्य तथा सचिव ढाकाराम अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार तथा अपांगता भएका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

