
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका अन्तर्गत वडा नम्बर ११, देउवापारमा माघ २ देखि ४ गते सम्म सञ्चालन हुने छैंठौं बाणगंगा नगरस्तरीय माघी खिचडी महोत्सव तथा थारु संवत २६४८ को तयारी पूरा भएको छ । महोत्सवबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा तयारी पुरा भएको जानकारी गराईएको छ ।
“हम्मन राष्ट्रिय एकता अउर भेषभूषा हम्मनके सान, भाषा, कला, संस्कृति संरक्षण सम्बद्र्धन कयना हम्मनके अभियान” भन्ने नारा सहित हुने यस महोत्सवका लागि थारु कल्याणकारीणी सभा बाणगंगा नगर समितिले विभिन्न कार्यक्रमको तयारी गरेको छ ।
थारु कल्याणकारीणी सभाका केन्द्रीय सदस्य उमाशंकर थारुले आफ्नो समुदायको कला, संस्कृति, र परम्परालाई प्रवद्र्धन गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउदै उहाँले सबैलाई माघी पर्वलाई ऐक्यबद्ध भएर मनाउन र शैक्षिक स्तरमा ध्यान दिन आग्रह गर्नु भयो ।
थारु समुदायको परम्परागत कला, संस्कृति, भेषभूषा, र अन्य सांस्कृतिक धरोहरको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न महोत्सवको आयोजना गरिएको थारु कल्याणकारीणी सभा नगर सभापति नाथुराम थारुले बताउनुभयो । महोत्सवमा एसईई र प्लस टु परीक्षामा उत्कृष्ट नतिजा ल्याउने थारु समुदायका छात्रछात्रालाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष डिला भुसाल, प्रेस चौतारी नेपाल केन्द्रिय सदस्य पार्वती पाण्डेले महोत्सवमा थारु खानालाई प्राथमिकता दिनुपर्ने र कला–संस्कृति जोगाउने अभियानलाई सुदृढ बनाउनु पर्नेमा जोड दिनु भयो ।
महोत्सवमा थारु जातिको भाषा, कला, र संस्कृति झल्काउने सामग्रीहरूको प्रदर्शनी, थारु खानाका स्टलहरू, तथा झुमरा, झर्रा, बड्का नाच, लाठी नाच, मयूर नाच, सजनी विरहनी जस्ता थारु नृत्य तथा झाँकीहरू प्रस्तुत गरिनेछ । साथै, रेकर्ड डान्स प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति महोत्सवलाई थप आकर्षक बनाउनेछ भने थारु परिकारका फरक फरक स्टल पनि राखिने छ ।
पत्रकार सम्मेलनमा थारु कल्याणकारीणी सभा जिल्ला उप सभापति भग्गु प्रसाद थारु, पत्रकार, थारु समुदायका अगुवा तथा स्थानीय स्तरका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।
नगर समिति सभापति नाथुराम थारुको अध्यक्षता, उपसभापति ऋषिराम थारुको स्वागत मन्तव्य भएको कार्यक्रमको सञ्चालन सचिव सिर्जना थारुले गर्नु भएको थियो । थारु समुदायले यस पर्वलाई नयाँ वर्षको रुपमा थारु वस्ती भएको ठाउँमा धुमधामका साथ प्रचलन रहेको छ ।

