
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकामा छैंठौं बाणगंगा नगरस्तरीय माघी (खिचडी) महोत्सव तथा थारु संवत २६४८ सुरु भएको छ । वडा नम्बर ११, देउवापारमा सञ्चालन भएको छैंठौं माघी महोत्सव बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले उद्घाटन गर्नुभएको हो । माघ २ अर्थात आज बाट सुरु भएको उक्त महोत्सव ४ गते सम्म सञ्चालन हुने आयोजक थारु कल्याणकारीणी सभा बाणगंगा नगर समितिले जनाएको छ । “हम्मन राष्ट्रिय एकता अउर भेषभूषा हम्मनके सान, भाषा, कला, संस्कृति संरक्षण सम्बद्र्धन कयना हम्मनके अभियान” भन्ने नारा सहित सुरु भएको महोत्सवलाई सम्बोधन गर्दै बाणगंगा नगर चक्रपाणि अर्यालले थारु समुदायसंगै सबै जातजातीको भाषा, कलाको संरक्षण गर्ने दायित्व नगरपालिकाको रहेको बताउनुभएको छ ।
कार्यक्रममा संविधान सभा सदस्य तथा थारु कल्याणकारिणी सभा केन्द्रिय सदस्य बिश्राम प्रसाद थारु, केन्द्रिय सदस्य सुमित्रा कुमारी थारु, बाणगंगा नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरी, थारु कल्याणकारिणी सभा कपिलवस्तुका सभापति पबन चौधरी, नगरपालिकाका प्रवक्ता बिष्णु प्रसाद पौडेल, वडा नं. ११ का वडाध्यक्ष नरेन्द्र प्रसाद थारु लगायतले सम्बोधन गर्दै थारु जातीले नयाँ बर्षको रुपमा मनाउने माघे सक्रान्तीको आफ्नै महत्व रहेको बताउनुभयो । उहाँहरुले हाम्रो देश बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय भएकाले सबै जातजातीका भाषा, कला र संस्कृतिकाृ उत्तीकै महत्व रहेको बताउनुभयो । थारु समुदायको कला, संस्कृति, र परम्परालाई प्रवद्र्धन गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउदै सबैलाई माघी पर्वलाई ऐक्यबद्ध भएर मनाउन अनुरोध गर्नुभयो ।
थारु समुदायको परम्परागत कला, संस्कृति, भेषभूषा, र अन्य सांस्कृतिक धरोहरको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न महोत्सवको आयोजना गरिएको थारु कल्याणकारीणी सभा नगर सभापति नाथुराम थारुले बताउनुभयो ।
महोत्सवमा थारु जातिको भाषा, कला, र संस्कृति झल्काउने सामग्रीहरूको प्रदर्शनी, थारु खानाका स्टलहरू, तथा झुमरा, झर्रा, बड्का नाच, लाठी नाच, मयूर नाच, सजनी विरहनी जस्ता थारु नृत्य तथा झाँकीहरू प्रस्तुत गरिएको थियो । साथै, रेकर्ड डान्स प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति महोत्सवलाई थप आकर्षक बनाउनेछ भने थारु परिकारका फरक फरक स्टल पनि राखिएको छ ।
नगर समिति सभापति नाथुराम थारुको अध्यक्षता, उपसभापति ऋषिराम थारुको स्वागत मन्तव्य तथा सचिव सिर्जना थारुको संचालन रहेको उक्त उद्घाटन कार्यक्रममा नेकपा (एमाले) बाणगंगा नगर कमिटी अध्यक्ष सोमनाथ अर्याल, नागरिक समाज कपिलवस्तुका अध्यक्ष अर्जुन पोख्रेल, थारु कल्याणकारिणी सभाका पदाधिकारी तथा सदस्य, जनप्रतिनिधि, राजनीतिक दल, संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

