
लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८, बोडगाउँमा मालपोत तथा नापी कार्यालयको औपचारिक उद्घाटन गरिएको छ । आइतवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सो कार्यालयको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मालपोत कार्यालय बाणगङ्गामा स्थापना हुनु सुखद पक्ष भएको बताए । उनले यस कार्यालय सञ्चालनमा आएपछि स्थानीयवासीलाई जग्गा नापजाँच, नामसारी, धनीपुर्जा प्रमाणीकरण लगायतका सेवाहरू सरल र सहज हुने विश्वास व्यक्त गरे। साथै, उनले सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउन प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए।
मन्त्री अधिकारीले सरकारी सेवाहरू जनताको घरदैलोमै पु¥याउने सरकारको नीति अनुरूप यो कार्यालय स्थापना भएको उल्लेख गर्दै स्थानीय तहमा सेवा प्रवाह सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताए । साथै, उनले भूमिसम्बन्धी काममा हुने अनियमितता, ढिलासुस्ती र विचौलियाको भूमिकालाई पूर्ण रूपमा रोक्न कडाइ गर्न निर्देशन दिए ।
कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कार्यालय स्थापनाले स्थानीयवासीलाई अत्यन्त ठूलो सुविधा पु¥याउने बताउँदै कार्यालयको प्रभावकारी सञ्चालनका लागि सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिइन् । उनले सरकारले अघि सारेका भूमि सुधार सम्बन्धी नीतिहरूको प्रभावकारी कार्यान्वयनमा मालपोत तथा नापी कार्यालयको महत्वपूर्ण भूमिका रहने बताइन् ।
कार्यक्रममा प्रदेशसभा सांसद गिरिधारीलाल न्यौपानेले नयाँ कार्यालय सञ्चालनमा आएसँगै अब स्थानीयवासीले सहज र छिटो सेवा पाउने विश्वास व्यक्त गरे । उनले भूमि व्यवस्थापनमा देखिएको जटिलता समाधान गर्न र जनतालाई प्रभावकारी सेवा दिन कार्यालयलाई आवश्यक सबै सहयोग प्रदान गरिने बताए ।
त्यसैगरी, बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले कार्यालय स्थापनाले स्थानीयवासीलाई धेरै राहत मिल्ने बताउँदै सेवाग्राहीलाई छिटो र सरल सेवा दिन कर्मचारीहरूलाई निर्देशित गरे। साथै, उनले भविष्यमा थप सेवा विस्तारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “नगरपालिकाको तर्फबाट कार्यालयलाई आवश्यक सहयोग तथा समन्वय गर्न सधैं तत्पर छौं ।”
कार्यालय सञ्चालनको पहिलो दिन बाणगङ्गाबाट २ जना सेवाग्राहीले सेवा लिएका छन् । सेवाग्राहीहरूले कार्यालय सञ्चालन भएसँगै अब आफूहरूलाई अन्यत्र जानुपर्ने बाध्यता हटेकोमा खुशी व्यक्त गरेका छन् ।
स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारीहरू, उद्योगी–व्यवसायी, तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ कार्यालय सञ्चालनमा आएसँगै सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गरेका छन् ।
स्थानीय बासिन्दाहरूले कार्यालय स्थापनाले आफ्नो दैनिक जीवनमा ठुलो सहजता ल्याउने भन्दै सरकारलाई धन्यवाद दिएका छन्। उनीहरूका अनुसार, अब मालपोत तथा नापीसम्बन्धी कुनै पनि कामका लागि टाढा जानुपर्ने झन्झट हटेको छ, जसले समय र आर्थिक खर्च दुवैमा बचत हुने छ ।
यसरी, बाणगङ्गा नगरपालिका वडा नम्बर ८, बोडगाउँमा मालपोत तथा नापी कार्यालय स्थापना भएसँगै स्थानीयवासीले प्रत्यक्ष लाभ लिन थालेका छन् ।

