
हरि आचार्य, कपिलवस्तु
लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले अहिले कांग्रेस एमाले मिलेर बनेको सरकारले जनताको चाहानाअनुरुप काम गरिरहेको बताउनुभएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति कपिलवस्तुले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा नाँप जाँचको बाणगंगा नगरपालिकाबाट शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभाका विशेषाधिकार समितिका सभापति तथा नेकपा (एमाले) का केन्द्रिय सदस्य समेत रहनुभएका न्यौपानेले कुनै पनि राजनीतिक पक्ष नलिई वास्तविक जनतालाई भूमिपति बनाउनु सरकारको उद्देश्य रहेको बताउनुभयो ।
उहाँले विगतका अन्य दलको नेतृत्वमा रहेका सरकारले जनताको यो महत्वपुर्ण काम गर्न नसकेको भन्दै अहिलेको सरकारले आवश्य पुरा गर्ने योजनाका साथ अगाडि बढिरहेको बताउनुभयो । न्यौपानेले जनतालाई आफुले जोतभोग गरेको लालपुर्जा प्रदान गरि भूमिपती बनाई समृद्ध नेपाल, सुखी नेपालीको संकल्प पुरा गर्ने बताउनुभयो । उहाँले लालपुर्जा कुनै पनि पार्टीका नेता कार्यकर्ताहरुलाई नदिई वास्तविक भूमिहिन नेपाली नागरिकलाई प्रदान गरिने बताउनुभयो । भूमि सम्बन्धी समस्या समाधान आयोगले जनताको हितका लागि अध्यादेशको अन्य जनताको विपक्षमा रहेका दलहरुले विरोध गरिरहेको बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै नेता न्यौपानेले राजतन्त्र फर्किने कुरा हिजोको समय फर्केर नआउने जस्तै रहेको बताउनुभयो । जनताकै खर्चमा जनतासरह भएर बस्नका लागि पुर्वराजालाई अनुरोध गर्दै आफुहरु लोकतन्त्रको पक्षमा रहेको बताउनुभयो ।