लुदस, कपिलवस्तु
बाणगंगा नगरपालिका–४ गजेहडास्थित चारनम्बर–तौलिहवा सडकखण्डमा निर्माण गरिएको भगवान गौतम बुद्धको मूर्ति अनावरण गरिएको छ । २५६९ औं बुद्ध जयन्तीको अवसरमा श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समितिद्वारा निर्माण गरिएका चारवटा बुद्ध मूर्ति नगरप्रमुख चक्रपाणी अर्याल र समितिका अध्यक्ष सुसिल सिंह ठकुरीले संयुक्त रूपमा अनावरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख अर्यालले बुद्धका शान्ति र करुणाका सन्देशलाई विश्वभर फैलाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले स्थानीय पाठ्यक्रमअन्तर्गत ‘कपिलवस्तु र बौद्धदर्शन’ विषयका पुस्तकहरू विद्यालयस्तरसम्म लागू गरिएको जानकारी पनि गराउनु भयो। श्रृङ्गीघाट सामुदायिक वनले विगत केही वर्षदेखि यस क्षेत्रमा उदाहरणीय काम गर्दै आएकोमा खुसी व्यक्त गर्दै नगरप्रमुख अर्यालले स्थानीय सरकार वनसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
साथै अध्यक्ष ठकुरीले गत वर्ष चारनम्बर सडक क्षेत्रमा मूर्ति निर्माण सुरु गरिएको र यसपटक गजेहडामा निरन्तरता दिइएको बताउनु भयो । उहाँले सडक क्षेत्रलाई सुन्दर र सुरक्षित बनाउन वनले निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो ।
त्यसैगरी वनकी सचिव सुष्मा खाँणले मूर्ति निर्माणसँगै सडक सौन्दर्यीकरण र विपद् व्यवस्थापनका लागि फायर हाईड्रेन्ट जडान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार चारनम्बर सडक क्षेत्र र गजेहडा क्षेत्र गरी आठवटा हाईड्रेन्ट जडान गरिएका छन्, जसले आगलागी नियन्त्रणका साथै सिँचाइ तथा सडक सफाइमा सहयोग पु¥याउनेछ ।

कार्यक्रममा सवडिभिजन कार्यालय मोतिपुरका प्रमुख अजाज अहमद अन्सारी, भूपू सैनिक खानेपानीका अध्यक्ष राजेन्द्र विक्रम शाह, वन पदाधिकारी, स्थानीय समाजसेवी तथा उपभोक्ताहरूको सहभागिता रहेको थियो।बाणगंगा नगरपालिका वडा नं. १, ३, ४ र ५ मा फैलिएको श्रृङ्गीघाट सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक तथा पूर्वाधार विकासमा समेत सक्रिय भूमिका खेल्दै आएको छ ।





















