लक्ष्मण सापकोटा, कपिलवस्तु
वडा स्तरीय युवा क्लव बाणगंगा २ को आयोजनामा बाणगंगा २ पिपरामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । बाणगंगा नगरपालिका २ नं. वडाको वडा कार्यालय, पिपरा कोठी महिला सामुदायिक वन उपभोक्ता समुह, ईलाका प्रहरी कार्यालय पिपरा, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश पिपरा, अस्थाई ट्राफिक पोष्ट पिपराको सहयोग एवम् जय भैरब चश्मा पसल तथा आँखा उपचार केन्द्र चारनम्बरको प्राविधिक सहयोगमा भएको शिविरमा करिब १ सय २० बढी जनाले सेवाको लाभ लिएका थिए । शिविरमा सामान्य किसिमका बिरामीलाई निःशुल्क औषधि वितरण गर्नुका साथै बढि समस्या देखिएका बिरामीलाई आँखा उपचार केन्द्रमा रिफर गरीएको छ ।

सामाजिक काम प्रति क्लवले देखाएको सक्रियताको प्रशंसा गर्दै कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका २ नं. वडाका वडा अध्यक्ष एवं नगर प्रवक्ता विष्णु पौडेलले युवाहरुले गर्ने हरेक हरेक सामाजिक गतिविधिमा वडाको तर्फबाट सक्दो सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्राविधिक सहयोग गरेको जय भैरब चश्मा पसल तथा आँखा उपचार केन्द्रका सञ्चालक सन्दिप भट्टराईले क्लवले आउँदा दिनमा पनि यस्तै सामाजिक काम गर्ने विश्वास राख्दै आफ्नो क्षेत्रबाट भरपुर सहयोग गर्ने र शिविरबाट रिफर गरिएका बिरामीहरुलाई विशेष छुटमा उपचार गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
क्लवका अध्यक्ष बिमल घिमिरेको अध्यक्षता, पिपरा कोठी महिला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रत्न बहादुर कार्की, ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरिक्षक लोकेन्द्र जिसि, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश पिपराका प्रमुख डियसपी दिपक कुवँर, अस्थाई ट्राफिक पोष्ट पिपराका एयसआई बगाले लगाएतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन क्लवका पुर्व अध्यक्ष विवेक विसीले गर्नुभएको थियो ।


















