रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित नेपाल–भारत सीमावर्ती कालीदह नाकाबाट तीन बालिका भारत लैजाँदै गरेका तीन भारतीयसहित चार जना पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।यही असार १५ गते दिउँसो साढे ३ बजेतिर शुभ अवसर ग्राम नेपाल र प्रहरी चौकी कालीदहबाट खटिएको प्रहरी टोलीले तीन जना नेपाली बालिकालाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेको हो । बालिकाहरूलाई अवैध रूपमा सीमा पार गराउन खोज्ने चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।पक्राउ परेका प्रतिवादीहरूमा भारत उत्तर प्रदेश राज्य अन्तर्गत गोरखपुर जिल्लाको कैम्पियरगंज कुवर बलुवा निवासी ३८ वर्षीया गीता गौड, १९ वर्षीया नेहा पाण्डे, सोही ठाउँ निवासी २६ वर्षीय प्रमोद कुमार धोबी र नेपाल रुपन्देही गैडहवा गाउँपालिका–६ निवासी १९ वर्षीया निर्मला लोध रहेका छन् ।
प्हरीका अनुसार उनीहरू लामो समयदेखि सीमा क्षेत्रमा सक्रिय रहेर नेपाली बालबालिका र किशोरीहरूलाई विभिन्न प्रलोभन देखाई भारततर्फ लैजाने प्रयासमा संलग्न थिए । नियन्त्रणमा लिइएका चारै जनाविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए ।


















