
लक्ष्मण साकोटा, कपिलवस्तु
एस.ई.ई. परिक्षा २०८१ मा शत प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल कपिलवस्तुको वाणगंगा नगरपालिका १ वैरीया स्थित वाल माध्यमिक विद्यालयले उतीर्ण विद्यार्थीहरु तथा अभिभावकलाई सम्मान गरेको छ । उतीर्ण ६३ जना विद्यार्थीहरुलाई अभिनन्दन समारोहको आयोजना गरि खादा, टिका तथा सम्मान पत्र सहित सम्मान गरिएको हो । साथै विद्यालयका सम्पुर्ण शिक्षक शिक्षिकाहरुलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले विद्यालयले ल्याएको उत्कृष्ट नतिजाप्रति खुसी व्यक्त गर्दै नगरको शिक्षा क्षेत्रमा यो एक ऐतिहासिक फड्को भएको बताउनुभयो । नगर प्रमुख अर्यालले उतीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै वाल माविको उत्कृष्ट नतिजा प्रति विद्यालयलाई नगरको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । अर्यालले बाणगंगाको शैक्षिक अवस्था क्रमशः सुधार हुंदै गएको बताउनुभयो । मेयर अर्यालले आफुहरुले विगत देखिनै शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर प्रभावकारी योजना बनाएकाले शैक्षिक अवस्था सुधार हुंदै गएको र नतिजा पनि राम्रो आएको बताउनुभयो । नगर प्रमुख अर्यालले कपिलवस्तुमै सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न बाणगंगा नगरपालिका सफल भएको बताउँदै नगरपालिकाका १६ जना विद्यार्थीले ४ जिपिए ल्याउनु गर्वको कुरा रहेको बताउनुभयो । उहाँले यो नतिजालाई टिकाईराख्नका लागि विद्यालय र नगरपालिका बिच समन्वय गरि अगाडि बढ्न तयार रहेको बताउनुभयो ।
यसैगरी नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले विद्यालयका उर्जावान शिक्षक, सक्रिय अभिभावक र मेहेनती विद्यार्थीको संयुक्त प्रयासले यस्तो उपलब्धि सम्भव भएको उल्लेख गर्नुभयो ।
विद्यालयका शिक्षक मित्रलाल शर्माले विद्यार्थीहरूको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले सामाजिक सञ्जालमा विद्यालयको सफलतालाई तामझाम नगरी विनम्र रूपमा मनाउन आग्रह पनि गर्नुभयो ।
विद्यार्थीहरूले विद्यालयको शिक्षामैत्री वातावरण, अनुभवी शिक्षक तथा व्यवहारिक शिक्षण पद्धतिका कारण आफूहरूले उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रतिक्रिया दिएका छन् ।
बाणगंगा नगरपालिका वडा नं. १ का कार्यवाहक वडाध्यक्ष टोपकला विसीको अध्यक्षता, को–अर्डिनेटर कृष्ण भण्डारीको स्वागत मन्तव्य, र शिक्षक सूर्य चुंदालीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रम बाणगंगास्थित पञ्जाबी तड्का पार्टी प्लेसमा आयोजना गरिएको थियो । कार्यक्रममा विद्यालय व्यबस्थापन समितिका पदाधिकारी, सदस्य, निवर्तमान समितिका पदाधिकारी, सदस्य, कर्मचारी, अभिभावक, विद्यार्थी तथा पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन शिक्षक सुर्य चुँदालीले गर्नुभएको थियो ।