
हरि आचार्य, कपिलवस्तु
एस.ई.ई. परिक्षा २०८१ मा शत प्रतिशत सहित उत्कृष्ट नतिजा निकाल्न सफल कपिलवस्तुको वाणगंगा नगरपालिका २ पिपरा स्थित हिलबर्ट ईङ्गलीश बोर्डिङ्ग स्कुलले उतीर्ण विद्यार्थीहरु तथा अभिभावकलाई सम्मान गरेको छ । उतीर्ण ४६ जना विद्यार्थीहरुलाई अभिनन्दन समारोहको आयोजना गरि खादा, टिका तथा सम्मान पत्र सहित सम्मान गरिएको हो । कार्यक्रममा माध्यमिक तहका शिक्षक, शिक्षिका, पुर्व शिक्षक, शिक्षिका, कर्मचारी लगायतलाई पनि सम्मान गरिएको थियो ।
विभिन्न अवार्ड प्राप्त हिलबर्ट स्कुलका ३९ जना विद्यार्थी ३.६ देखि ४.०० जिपिए तथा ७ जना विद्यार्थी ३.२ देखि ३.६ जिपिए प्राप्त गरेका छन् भने मेधावी छात्राहरु सृष्टि पौडेल र खेम कुमारी पुनले ३.९५ जिपिए सहित सर्वोत्कृष्ट अंक प्राप्त गरि विद्यालयको शैक्षिक यात्रामा महत्वपुर्ण सफलता प्राप्त गरेका हुन् ।
सम्मान समारोहका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष बिष्णु पौडेलले उतीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै हिलबर्टको उत्कृष्ट नतिजा प्रति विद्यालयलाई नगर वडाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । पौडेलले बाणगंगाको शैक्षिक अवस्था क्रमशः सुधार हुंदै गएको बताउनुभयो । पौडेलले आफुहरुले विगत देखिनै शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर प्रभावकारी योजना बनाएकाले शैक्षिक अवस्था सुधार हुंदै गएको र नतिजा पनि राम्रो आएको बताउनुभयो । उहाँले यो नतिजा प्राप्त गरिरहदा यसको दिगोपनाका लागि जोड दिनुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि बाणगंगा नगरपाालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले कपिलवस्तुमै सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न बाणगंगा नगरपालिका सफल भएको बताउँदै नगरपालिकाका १६ जना विद्यार्थीले ४ जिपिए ल्याउनु गर्वको कुरा रहेको बताउनुभयो । उहाँले यो नतिजालाई टिकाईराख्नका लागि विद्यालय र नगरपालिका बिच समन्वय गरि अगाडि बढ्न तयार रहेको बताउनुभयो । उहाँले हिलबर्टले अध्यापन मात्र नभई विद्यार्थीहरुलाई संस्कार सहितको शिक्षामा जोड दिदै आएको बताउनुभयो । उहाँले उच्च शिक्षा अध्ययनका लागि बाणगंगा नगर बाहिर जान आवश्यक नपर्ने बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल शिव कुमार पोख्रेलले देशभरि सबै विद्यालयको समग्र नतिजा बुझ्दा हिलबर्टका छात्रछात्राको नतिजा राम्रो आएकाले यस नतिजाले उत्साहित बनाएको र उत्कृष्ट नतिजा प्राप्त गर्न अहोरात्र खट्नुहुने शिक्षक, कर्मचारी, अभिभावक सम्पुर्णलाई आभार व्यक्त गर्नुभयो ।
विद्यालयका प्रबन्ध निर्देशक बुद्धिराम पौडेलले यो नतिजा आशादित रहेको बताउँदै उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि नतिजालाई कायम राख्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले विद्यालयका शैक्षिक स्तर गुणस्तरिय बनाउन स्थानीय सरकार, विद्यार्थी, अभिभावक, शिक्षक सबैसंग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा विद्यालयका अध्यक्ष दिपक खनालले सम्मान कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै यसपटक विद्यालयले उत्कृष्ट नतिजा ल्याएर खुसी छरेको बताउँदै आगामी दिनमा अझै राम्रो गराउने बताउनुभयो । अध्यक्ष खनालले सम्पुर्ण विद्यार्थीहरुको सफल शैक्षिक भविष्यको कामना गर्दै विद्यालयको शिर उचो राख्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य र गीत प्रस्तुत गरि मनोरञ्जन समेत प्रदान गरेका थिए ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्षता, प्रिन्सिपल शिव कुमार पोख्रेलको स्वागत मन्तब्य तथा नेपाली बिषय विभाग प्रमुख तेज प्रसाद आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।