निजी विद्यालय सञ्चालकहरूले भोलि ९बुधबार० देखि विद्यालय बन्द नगर्ने निर्णय गरेका छन् । यसअघि उनीहरूले ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण विधेयक २०८०’मा असहमति जनाउँदै भदौ १८ देखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएका थिए ।
प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीका अनुसार, सरकारसँग केही छलफल भने भइरहेको छ। तर,सहमति हुन सकेको छैन । उनले अबको आन्दोलन के कसरी गर्दै जाने भन्नेमा भोलि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जानकारी दिए ।
प्याब्सन, एनप्याब्सन र हिसानले पूर्ण छात्रवृत्ति, शैक्षिक सामग्री, यातायात, खाना–खाजा लगायतका प्रावधान खारेज गर्न र निजी विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउने प्रावधान हटाउन माग गर्दै आन्दोलन गर्दै आएका छन् । उनीहरूका अनुसार, छात्रवृत्ति वितरण सम्बन्धित विद्यालयमा हुनुपर्छ र पालिकासँग पारदर्शी समिति गठन गरेर वितरण गर्न सकिने व्यवस्था आवश्यक छ ।
प्रतिनिधि सभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको प्रतिवेदनसहित प्रस्तुत विधेयक भदौ २५ मा विशेष समयमा छलफल र पारित गर्ने कार्यतालिका छ ।





















