रामु यादव, लबनी, कपिलवस्तु
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाको आयोजनामा तथा कालिका स्वावलम्बन सामाजिक केन्द्र, युनिसेफ र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्राविधिक तथा आर्थिक सहयोगमा एकीकृत प्रारम्भिक बालविकास योजनाको समिक्षा तथा आगामी आर्थिक वर्षको योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी लबनी स्वास्थ्य चौकीको सभाहलमा सम्पन्न भएको छ।
शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यशालामा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा नं। १ देखि ६ सम्मका वडा अध्यक्ष तथा सचिवहरू, शिक्षा, स्वास्थ्य, कृषि, महिला तथा बालबालिका, सामाजिक विकास, पशु सेवा, योजना, खानेपानी, वास तथा लेखा शाखाका प्रमुखहरू, विषयगत समितिका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक, पालिका स्तरीय बालक्लब सञ्जालका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूसहित ३० जनाभन्दा बढीको सहभागिता रहेको थियो।
कार्यशालामा प्रत्येक वडा कार्यालयले प्रारम्भिक बालविकासको वर्तमान अवस्थाको विश्लेषण प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि आवश्यक कार्यक्रम तथा क्रियाकलापहरू पहिचान गरेका थिए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतले कार्यशालाबाट तय गरिएका प्रारम्भिक बालविकाससम्बन्धी क्रियाकलापहरू आगामी आर्थिक वर्षको गाउँपालिकाको योजना तथा बजेटमा समावेश गरिने जानकारी दिनुभयो।
गाउँपालिका अध्यक्ष कमलेश चौधरीले प्रारम्भिक बालविकास क्षेत्रको महत्व उल्लेख गर्दै यस क्षेत्रमा लगानी अभिवृद्धि गर्न स्थानीय सरकार सरोकारवाला निकायहरूसँग समन्वय गर्दै सक्रिय भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
त्यस्तै, वडा नं। २ का वडा अध्यक्ष मनोज कुमार यादवले प्रारम्भिक बालविकास जीवनको सबैभन्दा संवेदनशील चरण भएको उल्लेख गर्दै यही अवधिमा बालबालिकाको मानसिक, शारीरिक र भाषिक विकासको आधार निर्माण हुने भएकाले शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण, सरसफाइ तथा अभिभावक सचेतनालाई एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले गर्भावस्थादेखि आठ वर्षमुनिका बालबालिकाको सर्वोत्तम हित र सर्वाङ्गीण विकास सुनिश्चित गर्न स्थानीय सरकार, जनप्रतिनिधि, सेवा प्रदायक संस्था, सञ्चारकर्मी, विद्यालय, अभिभावक, शिक्षाप्रेमी तथा नागरिक समाजले आपसी समन्वय र सहकार्यमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रम सञ्चालन कालिका स्वावलम्बन सामाजिक केन्द्रका एस ई एस पि टेक्निकल अफिसर सुचेता शाक्यले गर्नुभएको थियो भने सहजीकरण सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, कपिलवस्तुका जिल्ला संयोजक अनिता शर्माले गर्नुभएको थियो।





















