रामबहादुर गन्धर्व
कपिलवस्तु, — कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–९ स्थित जगदीशपुर जलाशय क्षेत्रमा क्रियाशील बहुसरोकार मञ्चले प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाउने निर्णय गरेको छ। मञ्चको गत फागुन १३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।
मञ्चका अनुसार चैत १ गते आयोजना गरिने यस कार्यक्रमको मुख्य उद्देश्य कपिलवस्तु जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित ऐतिहासिक स्थल सगरहवा (लम्बु सागर) लाई विश्वव्यापी रूपमा परिचित गराउनु हो। ऐतिहासिक मान्यता अनुसार उक्त स्थानमा करिब ७० हजार शाक्यहरूको वध भएको स्मरणमा यो दिवस मनाउन लागिएको बताइएको छ।
कार्यक्रम जगदीशपुर जलाशय आसपासको क्षेत्रमा आयोजना गरिनेछ। कार्यक्रममा नेपालका विभिन्न स्थानका साथै अन्य देशबाट पनि बौद्ध भिक्षुहरू सहभागी हुने अपेक्षा गरिएको छ। यस अवसरमा श्रद्धाञ्जली सभा, धार्मिक पूजा, प्रवचन तथा शाक्य समुदायको इतिहास र महत्वबारे चर्चा कार्यक्रमसमेत सञ्चालन गरिने तयारी गरिएको छ।
व्यवस्थापन समितिका अध्यक्ष ललित गुरुङका अनुसार कार्यक्रममा विभिन्न देशका भिक्षुहरू, स्थानीय श्रद्धालु तथा समुदायका प्रतिनिधिहरू गरी सात सयभन्दा बढी व्यक्तिको सहभागिता रहने अनुमान गरिएको छ। कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढाइएको उनले जानकारी दिए।
मञ्चका पदाधिकारीका अनुसार यस्तो कार्यक्रमले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सगरहवा क्षेत्रको पहिचान अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउन सहयोग पुग्ने विश्वास गरिएको छ। साथै शाक्य समुदायको इतिहास, पीडा र पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य पनि यस कार्यक्रमले पूरा गर्ने अपेक्षा गरिएको छ।
बहुसरोकार मञ्चले स्थानीय निकाय, बौद्ध संघसंस्था, धार्मिक अगुवा तथा आम नागरिकलाई कार्यक्रममा सहभागी भई ऐतिहासिक स्मरण दिवसलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।


















