लुदस, जीतपुर
कपिलवस्तुको बाणगंगा नगरपालिका–६ स्थित लक्ष्मणघाट सामुदायिक वन उपभोक्ता समितिको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले वनको वार्षिक गतिविधि, आर्थिक व्यवस्थापन तथा आगामी कार्यदिशाका विषयमा छलफल गर्दै विभिन्न नीतिगत मार्गनिर्देशनसमेत गरेको छ ।
साधारणसभामा आर्थिक वर्ष २०८२/०८३ को वनको आर्थिक विवरण प्रस्तुत गरिएको थियो । समितिका कोषाध्यक्ष धनकुमारी पराजुलीले आर्थिक वर्षको एक करोड रुपैयाँभन्दा बढीको आय–व्यय विवरण साधारणसभामा प्रस्तुत गर्नुभएको थियो । उहाँले वनको आम्दानी तथा खर्चका विभिन्न शीर्षकबारे जानकारी गराउँदै वनको स्रोतलाई पारदर्शी, व्यवस्थित र उपभोक्तामैत्री ढंगले परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी समितिका सचिव अपिला टण्डनले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वन संरक्षण, व्यवस्थापन, उपभोक्ताको सहभागिता तथा समुदायको हितमा समितिले सञ्चालन गरेका विभिन्न गतिविधिबारे प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
समितिका अध्यक्ष खड्गबहादुर थापाले आगामी वर्षका लागि वन संरक्षण, वातावरणीय सन्तुलन, उपभोक्ताको हित तथा समुदायसँग प्रत्यक्ष जोडिने कार्यक्रमलाई प्राथमिकता दिने गरी भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन तथा प्रस्तावहरू साधारणसभाले सर्वसम्मत रूपमा पारित गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै बाणगंगा नगरपालिका–६ का वडाध्यक्ष करुण टण्डनले सीमित क्षेत्रफलमा रहेको लक्ष्मणघाट सामुदायिक वनले वन संरक्षणसँगै समुदाय र वातावरणको क्षेत्रमा उल्लेख्य काम गर्दै आएको बताउनुभयो । वनलाई केवल काठ तथा दाउराको स्रोतका रूपमा मात्र नभई वातावरणीय संरक्षण, जैविक विविधता र स्थानीय समुदायको समृद्धिसँग जोडेर अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले सामुदायिक वन उपभोक्ताहरूको सक्रिय सहभागिता र सहकार्यबाट वनको संरक्षण तथा विकास सम्भव हुने भन्दै आगामी दिनमा पनि वन र समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वन समितिका सल्लाहकार हुमनाथ भट्टराईले सामुदायिक वन स्थानीय समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षण र दिगो व्यवस्थापनमा सबै उपभोक्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । वनको स्रोत र साधनको पारदर्शी तथा विवेकपूर्ण उपयोगसँगै भावी पुस्ताका लागि वन जोगाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो ।
त्यसैगरी कार्यक्रममा झगरु थारुलगायतका वक्ताहरूले लक्ष्मणघाट सामुदायिक वनले आफ्नो सीमित क्षेत्रफलका बाबजुद समुदाय र पर्यावरणको क्षेत्रमा पुर्याउँदै आएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । वनको संरक्षणसँगै स्थानीय उपभोक्ताको आवश्यकता र वातावरणीय संरक्षणबीच सन्तुलन कायम गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।
सामुदायिक वनले स्थानीय स्तरमा हरियाली प्रवद्र्धन, वातावरण संरक्षण, वन पैदावारको व्यवस्थापन तथा उपभोक्ताको हितमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाइएको छ । आगामी दिनमा वन संरक्षणलाई थप प्रभावकारी बनाउँदै समुदायसँग प्रत्यक्ष जोडिएका कार्यक्रमलाई निरन्तरता दिने योजना समितिले अघि सारेको छ ।
साधारणसभा समितिका उपाध्यक्ष थानेश्वर भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिव अपिला टण्डनले गर्नुभएको थियो । साधारणसभामा वन उपभोक्ता, समिति पदाधिकारी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।




















