लुदस, जितपुर । बाणगंगा नगरपालिका–२ स्थित पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समूहको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा वनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ करोड ३६ लाख ४२ हजार ९ सय ८१ रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
सभालाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष विष्णुप्रसाद पौडेलले सामुदायिक वनले वन संरक्षणसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना तथा विकास निर्माणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए।
वन र स्थानीय सरकारबीच लागत साझेदारीमा विभिन्न विकास निर्माणका काम हुँदै आएको उल्लेख गर्दै पौडेलले आगामी दिनमा पनि सामुदायिक वन र स्थानीय सरकारबीचको सहकार्य तथा समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख प्रभात सापकोटाले सामुदायिक वनको विकासक्रम बारे चर्चा गर्दै विगतमा स्थानीय उपभोक्ताले जनश्रमदान मार्फत वन संरक्षण गर्दै आए पनि त्यसबाट प्राप्त आम्दानीको प्रतिफल सीमित हुने गरेको बताए।
सरकारले सामुदायिक वनको अवधारणामार्फत वन संरक्षणसँगै त्यसबाट प्राप्त प्रतिफल स्थानीय उपभोक्तामै पुग्ने व्यवस्था गरेपछि वन संरक्षण, विकास निर्माण, रोजगारी सिर्जना तथा सामाजिक क्षेत्रमा समेत उल्लेखनीय काम हुँदै आएको सापकोटाले बताए।
‘वन संरक्षणसँगै उपभोक्ताको हित प्राथमिकतामा’
वनका अध्यक्ष भीमसेन कार्कीले वन संरक्षणलाई प्राथमिकतामा राख्दै उपभोक्ताको आर्थिक तथा सामाजिक हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। आगामी दिनमा पनि वन संरक्षणसँगै उपभोक्तामुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता उनले व्यक्त गरे।
साधारण सभामा आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण वनका कोषाध्यक्ष श्यामबहादुर थापा क्षेत्रीले प्रस्तुत गरेका थिए। सभामा आगामी आर्थिक वर्षको कार्ययोजना तथा बजेटका साथै वन संरक्षण, उपभोक्ता हित र स्थानीय विकाससँग सम्बन्धित विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रममा वैज्ञानिक वन उपभोक्ता महासंघका अध्यक्ष रेणु सेन, सब–डिभिजन वन कार्यालयका प्रमुख दिनेशप्रसाद जयसवाल, विभिन्न सामुदायिक वन तथा संघसंस्थाका प्रतिनिधि र वन उपभोक्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन वनकी सचिव ममता राना मगरले गरेकी थिइन्।




















